नयाँ दिल्ली । बलिउडमा आफ्नो हास्य अभिनय र सशक्त प्रदर्शनका लागि परिचित अभिनेता राजपाल यादव यतिबेला फिल्मभन्दा बढी कानुनी विवादका कारण चर्चामा छन् ।
चेक बाउन्ससम्बन्धी एक पुरानो मुद्दामा दिल्ली उच्च अदालतबाट राहत नपाएपछि अन्ततः राजपाल यादवले नयाँ दिल्लीस्थित तिहाड जेलमा आत्मसमर्पण गरेका छन् । यो खबर सार्वजनिक भएलगत्तै फिल्म उद्योग र उनका प्रशंसकहरूमा हलचल मच्चिएको छ ।
चेक बाउन्स मामलामा आत्मसमर्पण
राजपाल यादवमाथि लामो समयदेखि चेक बाउन्ससम्बन्धी मुद्दा चलिरहेको थियो । अदालतले यस मामिलामा यसअघि नै उनलाई सजाय सुनाएको थियो र आत्मसमर्पण गर्न आदेश दिएको थियो । अभिनेताले समयसीमा बढाउन अपील गरेका थिए, तर दिल्ली उच्च अदालतले उनको याचिका खारेज गर्यो । अदालतले समय बढाउने कुनै ठोस आधार नभएको भन्दै उनलाई तुरुन्तै जेल अधिकारीहरूसमक्ष आत्मसमर्पण गर्नुपर्ने स्पष्ट पारेको थियो ।
बिहीबार साँझ ४ बजे आत्मसमर्पण
समाचारमा जनाइएअनुसार बिहीबार साँझ करिब ४ बजे राजपाल यादव तिहाड जेल पुगेर अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि जेल प्रशासनले उनिविरुद्ध तोकिएका नियम र मानक प्रक्रियाअनुसार कारबाही सुरु गरेको छ ।
यादवका तर्फबाट अदालतमा करिब ५० लाख रुपैयाँको व्यवस्था भइसकेको र भुक्तानीका लागि केही थप समय दिइनुपर्ने दलील पेस गरिएको थियो । उनका वकिलले अभिनेता आर्थिक संकटबाट गुज्रिरहेको र भुक्तानी गर्ने मनसाय राखेको पनि बताएका थिए । यद्यपि अदालतले यी दलीलहरू स्वीकार गरेन र कानुन सबैका लागि समान रहेको, चाहे त्यो सामान्य व्यक्ति होस् वा ठूलो फिल्मी हस्ती, स्पष्ट पारेको थियो ।