दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ ।
राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी उपत्यकामा रहेका चार स्थानीय तहबीच बैठक गरिएको छ । विपद् व्यवस्थापनका लागि आपसी रूपमा मिलेर काम गर्ने महत्वपूर्ण निर्णय भएको छ ।
राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिका समेत गरी बैठकद्वारा सहकार्यको लागि स्पष्ट रूपमा कार्ययोजना अगाडि बढाइएको छ ।
बैठकले विपद् व्यवस्थापन चाहिने आवश्यक सामग्रीको आवश्यकता पहिचान गरी सबै स्थानीय तहले आपसी समन्वयमा राहत तथा उद्धार सामग्री खरिद गर्ने बताइएको छ । र ती सामग्री नजिकैका सुरक्षा निकायलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै, खुला क्षेत्रको पहिचान तथा संरक्षण गर्दै कम्तिमा दुई स्थानमा साझा प्रयासमा सुरक्षित आश्रय स्थल निर्माण गरिने सहमति भएको छ ।
देउखुरीका राप्ती नदी र राजमार्ग क्षेत्रमा सम्भावित विपद्हरूसँग सामना गर्न साझा पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइने निर्णय पनि गरिएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई आश्रय, खाना र कपडाको व्यवस्थापनका लागि आवश्यक स्रोत र कोष प्रत्येक स्थानीय तहमा सुनिश्चित गरिने उल्लेख गरिएको छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन चारवटै स्थानीय तहका युवालाई स्वयंसेवकका रूपमा तयार गर्ने सहमति भएको छ । कम्तिमा सात दिनको तालिम प्रदान गर्ने र आवश्यक सुरक्षात्मक सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । जसले गर्दा आपतकालीन अवस्थामा छिटो र प्रभावकारी प्रतिकार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकले अन्तरपालिका समन्वयलाई संस्थागत गर्दै नियमित बैठक सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा विपद् व्यवस्थापनका क्षेत्रमा अन्तरपालिका समन्वय अपरिहार्य रहेको बताए ।
सोही बैठकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले विपद् व्यवस्थापनमा साझेदारी र सामूहिक अभ्यासको आवश्यकता रहेकोमा प्रकाश पारेका थिए । उनीहरूले पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन सहकार्य गर्नुपर्ने धारणा राखे ।
सोही बमोजिम लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी र राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले सर्पदंश जस्ता जोखिमका लागि भेन्टिलेटर सहितको उपचार सेवा आवश्यक रहेको औंल्याए । जसका लागि चारवटा स्थानीय तहकाे विचमा सहकार्य आवश्यक रहेकाेमा जाेड दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत दीपेन्द्र श्रेष्ठले आफ्नो क्षेत्रमा भएका असल अभ्यास प्रस्तुत गरेका थिए । एकीकृत कोष, सामग्री र प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले धारणा राखेका थिए ।
पहिरो, आगलागी, बाढी, डुवान, कटान भूकम्प, सर्पदंश तथा सवारी दुर्घटनाजस्ता विपद्को उच्च जोखिममा देउखुरी क्षेत्र रहेको निष्कर्ष बैठकले निकालेको छ ।
उपरोक्त कुरामा ध्यान राख्दै जोखिम न्यूनीकरण, दमकल व्यवस्थापन, सर्पदंश उपचार सेवा, खोज उद्धार, गोदाम व्यवस्थापन र विपद् कोष सञ्चालन लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । देउखुरी उपत्यकामा विपद् व्यवस्थापनलाई थप व्यवस्थित, समन्वित र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।