१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

ट्राफिक प्रहरीले यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ०३, २०८३

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो ।

“जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण दुर्घटनाको जोखिम बढ्ने हुँदा हटाउन थालेका हौँ”, उनले भने ।

पहाडी क्षेत्रका अधिकांश सडक एकतर्फी र कच्ची रहेको अवस्थामा सवारीको छतमा समेत यात्रु राखेर हिँडाउने प्रवृत्ति जोखिमपूर्ण भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले उल्लेख गरे। अभियानअन्तर्गत पछिल्लो दुई सातामा करिब तीन दर्जन यात्रुवाहक जीपबाट हुट हटाइएको छ । दलदले, चोरमारा र अरुणखोला क्षेत्रबाट पहाडी क्षेत्रमा चल्ने जीपहरूले छतमा यात्रु बोक्ने गरेको पाइएको छ । केही यातायात व्यवसायीहरूले पनि ट्राफिक प्रहरीको अभियानलाई साथ दिँदै स्वेच्छाले हुट हटाउन थालेका छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीको माथिल्लो भागमा अतिरिक्त सिट राख्ने तथा ओभरलोड गर्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले निगरानी कडा बनाएको जनाएको छ । विशेषगरी दुर्गम तथा पहाडी सडकमा यस्ता गतिविधिले दुर्घटनाको जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक प्रहरीको सक्रियतामा जीपहरूको हुट हटाउने काम भइरहेको र पुनः हुट राखेमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रमुख बर्तौलाले बताए । बढी यात्रु बोक्दा सवारीको सन्तुलन बिग्रने, ब्रेक प्रणालीमा समस्या आउने तथा दुर्घटनाको सम्भावना बढ्ने भएकाले अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

विगतमा पहाडी क्षेत्रमा सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको सन्दर्भमा समेत हुट हटाउने तथा अत्यधिक यात्रु बोक्ने प्रवृत्ति निरुत्साहित गर्न अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

साथै, सवारी चालक र यात्रुले पनि जोखिमपूर्ण यात्रा नगर्न सचेत हुनुपर्ने उनले बताए । पहाडी क्षेत्रमा चल्ने यात्रुवाहक जीपहरूको निगरानीका लागि कुमसोतसहित पहाडी क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरूमा निगरानी बढाइएको ट्राफिक प्रमुख बर्तौलाले बताए ।

ट्राफिक प्रहरीको निगरानी, अभियान र नियम उल्लंघन हुँदा गरिने कारबाही चालक तथा यात्रुको सुरक्षाकै लागि भएकाले यसमा सहयोग गर्न सबै सरोकारवालाई कार्यालय प्रमुख बर्तौलाले अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा सडक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस सडक खण्डमा पछिल्ला दिनहरूमा लगातार दुर्घटना बढिरहेका छन्। यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ।

कपिलवस्तु । वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो। काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला […]

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]