१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
×

विपद्को बेला फेक सूचना सम्प्रेषण नगर्न पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माद्वाारा आग्रह,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र १२, २०८३

दाङ । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको अप्रत्याशित तथा भीषण बाढीपछि उद्धार, राहत र सूचना सम्प्रेषणमा विशेष सावधानी अपनाउन नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ । महासङ्घ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले विज्ञप्ति जारी गर्दै विपद्का बेला मिथ्या, भ्रमपूर्ण सूचना तथा बीभत्स दृश्य र भिडियोको प्रवाह, प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो ।

बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै महासङ्घले घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सञ्चारकर्मीसहित सयौं व्यक्ति अझै सम्पर्कविहीन रहेको र धेरै जना उद्धारको प्रतीक्षामा रहेको भन्दै महासङ्घले प्रभावित क्षेत्रमा अविलम्ब तथा प्रभावकारी उद्धार र खोज कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन पनि महासङ्घले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

महाविपत्तिको यस घडीमा मिथ्या तथा भ्रमपूर्ण सूचना र सामग्री सम्प्रेषण हुँदा पीडित तथा प्रभावित समुदायमा थप त्रास र अन्योल सिर्जना हुन सक्ने भन्दै महासङ्घले सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको हो ।

महासङ्घले सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्नु सञ्चार क्षेत्रको व्यावसायिक तथा सामाजिक कर्तव्य भएको उल्लेख गरेको छ । उत्तेजना, डर, निराशा, अनावश्यक आतंक र भ्रम फैलाउने कुनै पनि सामग्री सार्वजनिक नगर्न पनि सबैलाई अनुरोध गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले विपद्को यस दुःखद घडीमा पीडित परिवार तथा प्रभावित समुदायसँग एकाकार रहेको जनाएको छ । साथै, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै सरोकारवाला निकाय एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकतामा महासङ्घले जोड दिएको छ ।

महासङ्घ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माद्वारा जारी विज्ञप्तिमा विपद्का बेला सञ्चार क्षेत्रले सूचना प्रवाहसँगै मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ। भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ। चार दिनसम्म मृत्यु हुनेको […]

मुग्लिङ,। पृथ्वी राजमार्ग प्रश्न : इन्स्पेक्टर साब, अहिले पृथ्वी राजमार्गको अवस्था कस्तो छ? प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का अहिले पृथ्वी राजमार्गको अवस्था एकदमै जोखिमपूर्ण छ। मुग्लिन-काठमाडौं खण्डमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। विशेष गरी चुम्लिङटार, जोगिमारा र सिम्ले नजिकै सडक हिलाम्मे र चिप्लो भएको छ। एकतर्फी मात्र सवारी चलिरहेको छ। *प्रश्न : सवारीसाधन चलिरहेका छन् कि ठप्प […]