काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ।
भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ।
चार दिनसम्म मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ। यो संख्या अझै बढ्ने अनुमान छ। हालसम्म सबैभन्दा धेरै चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ।
यस्तै रसुवामा १३, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, नवलपरासी पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७ र तनहुँमा ३१ जनाको शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ।
यस्तै हालसम्म ४ हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये १ सय ५१ जना जलविद्युत सुरुङभित्रबाट गरिएका हुन्।
प्राधिकरणकाअनुसार १ सय २९ जना विदेशी जनागरिकको उद्धार गरिएको छ।
यस्तै २ हजार ४ सय २६ जना बेपत्ता रहेका छन्। जसमध्ये जलविद्युत सुरुङभित्र मात्र ९ सय ३३ जना हराइरहेका छन्। ५ सय १७ जना विदेशी नागरिक बेपत्ता छन्।
यसैगरी नेपाल प्रहरी २७ जना, नेपाली सेना ४५, सशस्त्र प्रहरी १३ जना बेपत्ता छन्। भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी बेपत्ता छन्।
बेपत्ता हुनेहरूमा रसुवाका ५ सय २६, नुवाकोटका १ सय १५, मकवानपुरका ६५, विदेश बस्ने नेपाल घुम्न आएका नेपाली नागरिक १ सय २७ जना रहेका छन्।