दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत पर्ने भालुवाङ बजार नजिकै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा विश्वकर्मा भगवानको मन्दिर निर्माण गरियो । आफ्नै बजेटमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सामाजिक सामाजिक परोपकार सम्झिएर मन्दिरको निर्माण प्रक्रिया अगाडि बढाएको थियो ।
मन्दिर निर्माता त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले करिब ६ लाख रकम बराबरको लागतमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको कार्यालय परिसरमा विश्वकर्मा मन्दिर निर्माण गरेको बताइएको छ ।
यातायात व्यवसायसँगै सामाजिक तथा धार्मिक क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्यले मन्दिर निर्माण गरिएको सो प्रालिले दाबी गरेको छ । असोज १ गतेका दिन विश्वकर्मा पूजाको अवसर पारेर बिहीबार एक कार्यक्रमका बीच नवनिर्मित मन्दिरको भवनको उद्घाटन गरिएको हो ।
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा सितगंगा नगरपालिका–८ का वडा अध्यक्ष रूकेश आले मगरको प्रमुख आतिथ्यतामा उक्त मन्दिरको उद्घाटन गरिएको हो ।
मन्दिरमा विश्वकर्माको मूर्ति स्थापनाका लागि पनि प्रालिसँग सम्बन्धित व्यक्तिहरूले व्यक्तिगत रूपमा स्वेच्छिक रूपमा सहयोग गरेका छन् । प्रालिका प्रशासनिक सचिव नारायणप्रसाद न्यौपाने र भालुवाङ बुकिङ काउन्टरका लेखा इन्चार्ज मोहनकुमार श्रेष्ठले जनही २० हजार रकम गरी जम्मा ४० हजार रकम सहयोग गरेको पनि उल्लेख गरिएको छ ।