एजेन्सी । आक्रमणकारीहरूले एक दर्जनभन्दा बढी घरमा आगो लगाएका छन्। शुक्रबार रातिदेखि हिंसा सुरु भएको थियो। त्यसअघि एक कुकी महिलाको गोली हानी हत्या गरिएको घटना भएको थियो।
शुक्रबार राति कामजोङ जिल्लाको चसाद गाउँमा हतियारधारी समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो। उक्त घटनामा ४२ वर्षीया कुकी महिला डोमखोनी टौथाङको मृत्यु भएको थियो।
प्रहरीका एक स्थानीय अधिकारीले बताए अनुसार मणिपुर प्रहरी, इन्डिया रिजर्भ बटालियन र सीमा सुरक्षा बल (बीएसएफ) को संयुक्त टोलीले चसाद गाउँमा रहेका अवैध बङ्करहरू हटाउन अभियान सञ्चालन गरिरहेको थियो।
यसै क्रममा स्थानीय महिलाहरूले उक्त कारबाहीमा अवरोध पुर्याउने प्रयास गरे। त्यसपछि अज्ञात आक्रमणकारीहरूले सुरक्षाकर्मीमाथि गोली चलाए। जवाफमा सुरक्षाकर्मीहरूले पनि प्रतिकार गरे।
यस घटनापछि क्षेत्रमा तनाव बढ्यो र केही अज्ञात उपद्रवीहरूले गाउँका धेरै घरमा आगजनी गरे। घटनाको विरोधमा कुकी नागरिक संगठन र कुकी महिला संघका कार्यकर्ताहरूले प्रदर्शन गरे।
यसैबीच, चसाद गाउँमा अर्का एक कुकी व्यक्तिको पनि हत्या गरियो। यससँगै शनिबार बिहान फेरि हिंसा सुरु भयो। केही अज्ञात आक्रमणकारीहरूले चसाद प्रहरी चौकीमा समेत आगो लगाउने प्रयास गरेको बताइएको छ। हाल कामजोङ जिल्लाका जिल्ला मजिस्ट्रेटले आदेश जारी गर्दै प्रहरी चौकीको ४०० मिटर वरपर निषेधात्मक प्रतिबन्ध लागू गरेका छन्।
कामजोङ जिल्लाकै अर्को घटनामा निङ्चु गाउँका दुई जना नगा गाउँ सुरक्षा गार्डको शनिबार बिहान कथित रूपमा हत्या गरिएको छ। मृत्यु हुनेमा ३६ वर्षीय नगाचान्सो निङशेन र ४८ वर्षीय लेशिशान हङ्ग्यो रहेका छन्। ताङखुल नगा संगठनका अनुसार, भारत–म्यानमार सीमाको १०२ नम्बर सीमास्तम्भ नजिक उनीहरूमाथि आक्रमण भएको थियो।
यसअघि शनिबार बिहान करिब ५ बजे माकुई गाउँमा कुकी सशस्त्र समूहले कथित रूपमा गरेको आक्रमणमा तीन जना नगा गाउँ सुरक्षा गार्ड मारिएका थिए। शनिबार बिहान काङ्पोकपी जिल्लाको टापोन गाउँमा भएको अर्को आक्रमणमा एक जना स्वयंसेवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुने व्यक्ति थालोन गाउँका ३५ वर्षीय माचुङवाङ्बो रहेको बताइएको छ। यसरी विभिन्न क्षेत्रमा शनिबार साँझसम्म पनि गोली हानाहान जारी रह्यो।
अर्को घटनामा सेनापति जिल्लाको तापहौ सेनापति नेपाली गाउँका ३० वर्षीय सन्दीप रायको शनिबार बिहान उखरुल जिल्लाको कोन्जाङ गाउँनजिक अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका छन्।
यसअघि गत फेब्रुअरी ७ मा उखरुल जिल्लामा कुकी र नगा जनजातिका केही युवाबीच कथित रूपमा हातपात भएपछि द्वन्द्वले व्यापक हिंसाको रूप लिएको थियो। पछिल्लो आठ महिनादेखि कुकी र ताङखुल नगा समुदायबीच जारी यस हिंसामा ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
यसैबीच, मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शनिबार नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरेका छन्।
भेटपछि मुख्यमन्त्री खेमचन्दले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग भेट गर्न पाउनु मेरा लागि सौभाग्यको कुरा थियो। उहाँको दूरदर्शी नेतृत्वले विकसित भारतको हिस्साका रूपमा शान्तिपूर्ण, समृद्ध र विकसित मणिपुर निर्माण गर्ने हाम्रो संकल्पलाई निरन्तर प्रेरित गरिरहेको छ।’