गोरखा । भोटेकोशीमा जस्तै गरी बूढीगण्डकी नदीमा लेदो र गेग्रान सहितको भीषण बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-६ र ७ मा पर्ने पैयू र बगर गाउँका ३५ वटा घर र होटलहरू बगाएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे ठूलो आवाजसहित आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी बजारमा पनि व्यापक क्षति पुर्याएको छ। नदी आसपासको १५० देखि २०० मिटर माथिसम्मको तटीय क्षेत्र प्रभावित भएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारीका अनुसार हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन, स्थानीय बिहानै ज्यान जोगाउन उच्च स्थानतर्फ भागेका थिए।
*आरुघाटसम्म उच्च सतर्कता*
चुम्चेत र छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि यस्तो फ्ल्यास फ्लड आएको प्रारम्भिक अनुमान छ। बाढी पूर्वानुमान महाशाखा र विपद् प्राधिकरणले SMS मार्फत त्रिशूली दोभानसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान सूचना जारी गरेको छ। सिर्दिबास, जगत्, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत हुँदै आरुघाट बजारसम्म ठूलो क्षति पुर्याउन सक्ने जोखिम रहेको बताइएको छ।
नेपाली सेनाको हेलिकप्टर सहितको टोली र नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई तटीय क्षेत्रमा परिचालन गरिएको छ। आरुघाटको सोतीमा रहेको मोटरेबल पुल बगिसकेको र सोती बजार डुबानमा परेको अध्यक्षले बताएका छन्।