काठमाडौं । ७१औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ बाट सम्मानित हुनुभएको छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो। गृहमन्त्री सुधन गुरुङले सो पुरस्कार वितरण गर्नुभएको हो।
विभिन्न जटिल घटनाको अनुसन्धान, अपराध नियन्त्रण, भन्सार सुरक्षाका क्रममा उदाहरणीय राजस्व संकलन र समग्र शान्ति सुरक्षा सुदृढीकरणमा पुर्याउनुभएको योगदानको कदर गर्दै एसपी जिसीलाई यस वर्षको पूर्ण शान्ति पुरस्कार प्रदान गरिएको हो।
यस वर्षको प्रतिष्ठित ‘पुलिस ब्याटन’ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीलाई प्रदान गरिएको छ।
एसपी जिसी यसअघि लुम्बिनी प्रदेशस्तरीय उत्कृष्ट अनुसन्धान पुरस्कार र बेस्ट इन्भेस्टिगेसन शोकेसबाट समेत सम्मानित भइसक्नुभएको छ। बाँकेको कमान्ड सम्हालेपछि उहाँले लागूऔषध नियन्त्रण, संगठित अपराध र जटिल मुद्दाहरूको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।