एजेन्सी । बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार गर्ने आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
गोली प्रहारपछि फरार भएका आक्रमणकारीले मुम्बईको अन्धेरी पश्चिम क्षेत्रमा मोटरसाइकल छाडेको हुन सक्ने प्रहरीको अनुमान छ।
मोटरसाइकल बरामद भएपछि प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेजको विश्लेषण गरी आक्रमणकारी भागेको सम्भावित मार्ग पत्ता लगाउने प्रयास थालेको छ।
आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर सवार कारमाथि गोली प्रहार भएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी प्रत्यक्ष गोली लाग्नबाट बचे पनि उनको दायाँ हातमा बारूदका छर्रा लागेका थिए। नानावती अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भएका छन्।
महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देका अनुसार टाइगरको बीएमडब्लू कारमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो।
घटनामा उनका चालक फिरदौसको बायाँ हातमा गोली लागेको छ। उनको नानावती अस्पतालमै उपचार भइरहेको बताइएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सान्ताक्रुज क्षेत्रबाट एक जना संदिग्धलाई नियन्त्रणमा लिएको छ। यद्यपि, प्रहरीले ती व्यक्तिको पहिचान र घटनामा उनको सम्भावित संलग्नताबारे खुलाएको छैन।