दाङ। समाजमा पठन संस्कृतिको विकास गर्ने, साहित्यप्रति रुचि बढाउने र पुस्तक पढ्ने बानीको विस्तार गर्ने उद्देश्यले साहित्यकार सविन प्रियासनले सञ्चालन गर्नुभएको ‘किताब उपहार अभियान’ जारी रहेको छ।
नेपालमा सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने साहित्यकारमध्ये दोस्रो स्थानमा रहेको दाबी गरिएका प्रियासनले अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर २ र ४ का विभिन्न स्थानमा पुगेर पुस्तकप्रेमी तथा साहित्यमा रुचि राख्ने व्यक्तिहरूलाई आफूले लेखेका उपन्यासहरू उपहार दिनुभएको छ।
पछिल्लो समय मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा पुस्तक पढ्ने संस्कृतिलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता महसुस गरेर आफूले किताब उपहार अभियान सञ्चालन गरेको प्रियासनले बताउनुभयो। उहाँका अनुसार पुस्तकले मानिसलाई ज्ञान, चेतना, सकारात्मक सोच र सिर्जनात्मक क्षमताको विकास गर्न सहयोग पुर्याउँछ। त्यसैले पुस्तक पढ्ने बानीलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन आवश्यक छ।
प्रियासनले दशैँ, तिहार, छठलगायतका चाडपर्व तथा जन्मदिन, वार्षिकोत्सव र अन्य विशेष अवसरमा पुस्तक उपहार दिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। महँगा र देखावटी उपहारभन्दा पुस्तकले व्यक्तिको ज्ञान र जीवनमा दीर्घकालीन प्रभाव पार्न सक्ने उहाँको भनाइ छ।
‘किताब उपहार अभियान’ केवल पुस्तक वितरण गर्ने कार्यक्रम मात्र नभई समाजमा पढ्ने, बुझ्ने, सोच्ने र सिर्जना गर्ने वातावरण निर्माण गर्ने प्रयास भएको प्रियासनले बताउनुभयो। उहाँले आफूले लेखेका पुस्तक उपहार दिएर पाठकलाई साहित्यसँग जोड्ने र नयाँ पुस्तामा पठन संस्कृतिप्रति आकर्षण बढाउने लक्ष्य राख्नुभएको छ।
यसअघि पनि प्रियासनले घोराही उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर पुस्तकप्रेमीहरूलाई आफ्ना उपन्यासहरू उपहार दिइसक्नुभएको छ। वडा नम्बर २ र ४ मा सञ्चालन गरिएको पछिल्लो अभियानसँगै उहाँले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ।
पुस्तक उपहार दिने संस्कृतिले लेखक र पाठकबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै स्थानीय साहित्यको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। साहित्यकार प्रियासनले व्यक्तिगत रूपमा सुरु गर्नुभएको यो अभियानले चाडपर्व तथा विशेष अवसरमा पुस्तक उपहार दिने परम्परालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
पठन संस्कृतिको विकासका लागि लेखक, पाठक, अभिभावक, शिक्षक तथा साहित्यप्रेमी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने सन्देशसहित प्रियासनको ‘किताब उपहार अभियान’ अघि बढिरहेको छ।