चाडपर्व लक्षित तस्करी बढ्यो,कपिलवस्तु प्रहरीले बरामद गर्यो ४ लाख ३४ हजारका सामानहरु
कपिलवस्तु । चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तुमा तस्करी बढेको छ। जिल्ला प्रहरीले हरेक दिन लाखौं मूल्यका बिलबिजकविहीन सामान समात्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आइतबार बिहान मात्र जिल्लाका दुई स्थानबाट ४ लाख ३४ हजार २ सय रुपैयाँ बराबरका बिलबिजकविहीन तथा अवैध रूपमा ल्याइएका सामान बरामद गरिएको छ।
प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार शिवराज नगरपालिका-१ शिवपुरीस्थित कोलनी चोकमा बिहान करिब ५:४५ बजे काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा ३ लाख ३१ हजार २ सय रुपैयाँ मूल्यका तयारी कपडा बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक आदर्श गिरीको कमान्डमा खटिएको ७ सदस्यीय टोलीले बस जाँच गर्दा १६८ थान रेडिमेड हुडी र ९९ थान ट्राउजर फेला पारेको थियो। हुडीको अनुमानित मूल्य २ लाख ५२ हजार र ट्राउजरको ७९ हजार २ सय रुपैयाँ रहेको छ। सोही बसमा कागजपत्र नभएको लु ५४ प २५५९ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
त्यसैगरी यशोधरा गाउँपालिका-५ ननवास्थित खेतको कच्ची बाटोबाट भारत हुँदै नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको १ लाख ३ हजार रुपैयाँ मूल्यका चिनी, पटका र खेलौना बरामद गरिएको छ। प्रहरी चौकी म्यादपुरबाट वरिष्ठ नायब निरीक्षक मीनबहादुर देउवाको कमान्डको गस्ती टोलीले बिहान करिब ७ बजे उक्त सामान फेला पारेको हो।
*१० दिनमा ९० लाख बढीको सामान बरामद*
कपिलवस्तु प्रहरीले दसैं सुरु भएयता पछिल्लो १० दिनमा ९० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ।
असोज २८ गते १६ लाख १३ हजार, असोज २७ गते १ लाख ५० हजार, असोज २६ गते ७ लाख ४५ हजार, असोज २५ गते २ लाख २१ हजार र असोज २१ गते एक भ्यान र एक मोटरसाइकल सहित १० लाख ९० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।