दशैंको टीका र आशीर्वादसँगै किताब उपहार दिँदै साहित्यकार प्रियासन बालबालिका तथा युवालाई पुस्तक उपहार, चाडपर्वमा पठन संस्कृतिको विकास गर्ने अभियान
दाङ। भन्नासाथ टीका, जमरा, आशीर्वाद र पारिवारिक भेटघाटको सम्झना आउँछ। तर साहित्यकार सबिन प्रियासनले भने यस वर्षको दशैंलाई पुस्तक उपहारसँग जोडेर पठन संस्कृतिको विकास गर्ने सन्देश दिनुभएको छ। उहाँले दशैंको टीका लगाउन घरमा आउने बालबालिका तथा युवाहरूलाई टीका र आशीर्वादसँगै आफूले लेखेका उपन्यासहरू उपहार दिनुभएको हो।
नेपालमा सर्वाधिक उपन्यास प्रकाशित गर्ने साहित्यकारमध्ये दोस्रो स्थानमा रहेको दाबी गरिएका प्रियासनले चाडपर्वलाई ज्ञान, सिर्जना र सकारात्मक सोच बाँड्ने अवसरका रूपमा उपयोग गर्नुभएको छ। उहाँको यस कार्यले दशैंमा दक्षिणा र अन्य उपहारसँगै किताब दिने संस्कारको विकास गर्नुपर्ने सन्देश दिएको छ।
प्रियासनले घरमा टीका लगाउन आउने बालबालिका तथा युवाहरूलाई आफ्ना उपन्यासहरू प्रदान गर्दै अध्ययनप्रति रुचि बढाउन प्रेरित गर्नुभएको छ। बालबालिका र युवाको हातमा पुस्तक पुर्याउन सके उनीहरूमा पढ्ने बानीको विकास हुने, नयाँ ज्ञान प्राप्त हुने र सिर्जनात्मक क्षमतामा वृद्धि हुने उहाँको विश्वास छ।
उहाँले दशैंको अवसरमा आफ्नो घरमा मात्र नभई अन्य स्थानमा समेत पुस्तक उपहार दिने अभियानलाई निरन्तरता दिइरहनुभएको छ। चाडपर्व, जन्मदिन तथा अन्य विशेष अवसरमा पुस्तक उपहार दिने संस्कार स्थापित गर्न सके समाजमा पठन संस्कृतिको विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने उहाँको धारणा छ।
पछिल्लो समय मोबाइल फोन र सामाजिक सञ्जालमा बालबालिका तथा युवाको आकर्षण बढिरहेका बेला उनीहरूलाई पुस्तक पढ्ने वातावरण सिर्जना गर्नु आवश्यक छ। पुस्तकले मानिसलाई ज्ञान, अनुभव र जीवन बुझ्ने दृष्टिकोण प्रदान गर्ने भएकाले पुस्तक उपहार दिने चलनलाई पारिवारिक संस्कारकै रूपमा विकास गर्नुपर्ने सन्देश प्रियासनको अभियानले दिएको छ।
प्रियासन साहित्य लेखनसँगै पुस्तक पढ्ने बानीको विकास र लेखकका सिर्जनालाई पाठकसम्म पुर्याउने उद्देश्यले किताब उपहार अभियानमा सक्रिय हुनुहुन्छ। उहाँको यस पहलले दशैंलाई मनोरञ्जन र पारिवारिक जमघटमा मात्र सीमित नराखी ज्ञान र संस्कार बाँड्ने पर्वका रूपमा मनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।
टीका लगाउँदा दिइने आशीर्वादले जीवनमा असल बन्न प्रेरणा दिन्छ भने पुस्तकले असल सोच र व्यवहार निर्माण गर्न सहयोग पुर्याउँछ। त्यसैले टीका, आशीर्वाद र किताबलाई एकसाथ जोडेर अघि बढाइएको प्रियासनको प्रयासले बालबालिका तथा युवामा अध्ययनप्रतिको आकर्षण बढाउन र समाजमा पठन संस्कृतिको जग बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।