२४ कार्तिक २०८३, मंगलबार
10-11-2026 , Tue
×

आईजीपी सचिवालय चुस्त बनाउँदै आईजीपी केसी, सुरक्षा परिषदमा एसएसपी पोखरेललाई भित्र्याए,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २४, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आफ्नो सचिवालयलाई चुस्त पार्ने तयारी थालेका छन् । शुरूमा उनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेललाई सचिवालयमा ल्याएका छन् ।

यसअघिका आईजीपीहरू क्रमशः वसन्तबहादुर कुँवर, दीपक थापा, चन्द्रकुवेर खापुङ र दानबहादुर कार्कीको ‘कोपभाजन’मा परेका पोखरेल विगत १८ महिनादेखि राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत थिए ।

सामान्यतः प्राविधिकबाहेक प्रशासनतर्फका एसएसपी एउटा कार्यालयमा कम्तीमा एक वर्ष मात्रै बस्छन् । तर, पोखरेलका हकमा त्यो लागू भएन ।

एसएसपी दरबन्दी रहेका उपत्यकाका प्रहरी कार्यालयहरू क्रमशः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी परिसर ललितपुर, लागुऔषध नियन्त्रण ब्युरो, मानव बेचबिखन ब्युरोजस्ता कार्यालयमा ठाउँ खाली हुँदा पनि पोखरेललाई परिषद्मै थन्क्याइयो ।

पोखरेललाई संगठनमा कम बोल्ने र नीति तथा योजना परिमार्जनमा राम्रो दख्खल राख्ने वरिष्ठ अधिकृतका रूपमा लिइन्छ । आईजीपी केसीले पोखरेलको आवश्यकता ठानेरै सचिवालयमा लगेको जानकारहरू बताउँछन् । केसीले डीएसपी सत्य थापालाई पनि सचिवालयमा लगेका छन् ।

आईजीपी केसीले तत्काल सचिवालयको पुरानो संरचनालाई नबदल्ने रणनीति लिएका छन् ।

निवर्तमान आईजीपी कार्कीले सचिवालयमा राखेका एसएसपी दीपशमशेर जबरा, एसपी धर्मराज भण्डारी र डीएसपी हरि खतिवडालाई अहिले केसीले अदलीबदली गरेका छैनन् ।

सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेका निवर्तमान आईजीपी कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कात्तिक ३० गते रिटको पेसी तोकिएको छ । त्यतिबेलासम्म आईजीपी केसीले सचिवालयको पुरानो टोलीलाई नफेर्ने रणनीति लिएका हुन् ।

तिहारपछि समयावधि पुगेका एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टरको सरुवा गर्ने तयारी छ । त्यतिबेलै सचिवालयमा रहेकालाई सरुवा सूचीमा समेट्ने योजना आईजीपी केसीको छ ।

त्यति मात्रै होइन, आईजीपी सचिवालयको प्रत्यक्ष मातहतमा रहने उजुरी छानबिन महाशाखामा कार्यरत कर्मचारीको समेत हेरफेर हुने बताइएको छ । जिल्ला–जिल्लाबाट परेका उजुरीलाई छानीछानी हेरेर कारबाही गरेको गुनासो केसीसमक्ष पुगिसकेकाले उक्त महाशाखाका कर्मचारीको पनि हेरफेर गर्ने तयारीमा उनी छन् ।

निवर्तमान आईजीपी कार्कीले सामाजिक सञ्जाल निगरानी गर्ने र आर्टिफिसियल इन्टेलिजेन्समार्फत सर्वसाधारणलाई सूचित गराउने छुट्टै डेस्क सञ्चालनमा ल्याएका थिए ।

केसीले आर्टिफिसियल इन्टेलिजेन्समार्फत सर्वसाधारणलाई सूचित गराउनेबाहेकका गतिविधि रोक्न निर्देशन दिइसकेका छन् ।

तिहारपछि केही डीआईजीको सरुवा हुने बताइएको छ । केन्द्रीय प्रवक्तामा हाल लुम्बिनी प्रदेश प्रहरीमा कार्यरत डीआईजी भूपेन्द्र खत्री वा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीमध्ये एक जनालाई ल्याउने तयारी छ । निवर्तमान आईजीपी कार्कीले अदालतबाट मुद्दा नजितेको अवस्थामा केसीले निरन्तरता पाइरहे उनीपछि खत्री आईजीपीका दाबेदार हुन् । खत्री आफ्ना ब्याचको एक नम्बरमा छन् ।

आईजीपी केसीले प्रहरी प्रधान कार्यालयमा सम्बोधनका क्रममा कसैलाई पनि विचलित नभई इमान्दारीका साथ काम गर्न निर्देशन दिएका थिए ।

उनले भाइचारा नीति कायम गर्दै संगठनविरुद्ध बाहिर गएर अभिव्यक्ति दिने कार्य बन्द गर्न चेतावनीसमेत दिएका थिए ।सुवास गोतामेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा दिनप्रतिदिन बुलडोजरप्रति क्रेज बढ्दै गएको छ। परिवर्तनको चाहना, विकासको सपना र बेथितिविरुद्धको आवाजसँगै आम नागरिकहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको छ। राष्ट्रिय जनमत पार्टी नेपालगन्जका नेता इरफान अहमद शेषले पार्टीमा प्रवेश गर्नुहुने सम्पूर्णलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् । तपाईंहरूको साथ, विश्वास र समर्थन नै […]

  बाँके । नेपालगन्ज मोटरसाइकलमा आएका दुई युवकले अचानक हेलमेटले प्रहार गरी आक्रमण गरेका छन्। घटना लगत्तै बाँके प्रहरीले तत्काल एक्सन लिएको छ। वरिष्ठ सई ओम खड्काले आफैंले दुवै आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । वर्तमान अवस्था वडा प्रहरी कार्यालयलाई जानकारी गराई दुवै आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको […]

  बाँके । कोहलपुर तिहारका बेला विद्युत, दीयोबत्ती तथा पटकाका कारण हुनसक्ने सम्भावित आगजनी नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले इलाका प्रहरी कार्यालय कोहलपुरलाई आगलागी नियन्त्रण उपकरणहरू हस्तान्तरण गरेको छ। यी उपकरणहरू इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत मातहतका प्रहरी इकाईहरूमा वितरण गरिनेछ, जसले आपतकालीन अवस्थामा तत्काल आगो नियन्त्रण गर्न सहज हुनेछ। इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी *चक्र बहादुर […]