कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा *शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा* रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा उनलाई हात्तीले आक्रमण गरेको हो। *शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको* आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति निकुञ्जभित्र पर्ने तारापुर शिविरमा जंगली हात्तीको बथान पसेको थियो। हात्तीको बथानले डगौराको घर समेत भत्काएको छ। उनका श्रीमान् मोहन डगौराले भागेर ज्यान जोगाएका छन्।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ।