काठमाडौं । प्रहरीमा एक महिनापछि एकैसाथ पाँचजना उच्च प्रहरी अधिकारीले अवकाश पाउने भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकले अवकाश पाउन लागेका हुन् ।
उनीहरु पाँचजना नै प्रहरीको ३० वर्षे सेवा अवधिका आधारमा अवकाशमा जान लागेका हुन् ।
उनीहरु २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । पछि भने नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । तर, सेवाअवधि भने राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएकै मितिदेखि लागु हुने भएपछि उनीहरु पुस ५ गतेबाट अवकाशमा जान लागेका हुन् ।
हाल शाह प्रहरी प्रधान कार्यालयको प्रदेश समन्यव विभागमा कार्यरत छन् ।
यसरी नै राठौर उपत्यका प्रहरी कार्यालय रानीपोखरी, चतुर्वेदी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हिमालय श्रेष्ठ प्रहरी प्रधान कार्यालयको कार्य विभाग र विक प्रशासन विभाग प्रमुख छन् ।
प्रहरीमा ८ जना एआईजीहरुको दरबन्दी छ । हाल एक एआईजी रिक्त छ । सरकारले कात्तिक १८ गते नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई आईजीपी नियुक्त गरेसँगै एक एआईजीको दरबन्दी रिक्त भएको थियो ।
यो संख्या पुस ५ देखि भने एआईजीको रिक्त दरबन्दी ६ पुग्ने छ ।
हाल एआईजीहरुमा राजन अधिकारी र ईश्वर कार्की मात्रै बाँकी रहने छन् । उनीहरु दुवैजना हालका आईजीपी केसीकै ब्याची हुन् ।
उनीहरु २०५४ मा चैत १८ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीहरु हुन् ।
एकैसाथ ६ एआईजीहरुको दरबन्दी रिक्त हुने भएपछि एआईजी बढुवाका लागि डीआईजीहरुको लिगलिगे दौड सुरु भइसकेको छ । हालका आईजीपी केसीकै ब्याचीहरुसमेत केही डीआईजी नै छन् ।
उनीहरुभन्दा पछिल्लो ब्याचका डीआईजीहरुसमेत यही मौकामा एआईजी बढुवा भएर भावि प्रहरी नेतृत्वमा पुग्न चाहन्छन् । एआईजीका ब्याचीहरुमा राजेन्द्र भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया र दिपेन्द्र घर्ती छन् ।
यसरी नै सुदर्शन कोइराला, दिपककुमार बस्नेत र जयराज सापकोटा पनि बढुवाका प्रतिस्पर्धामा छन् । उनीहरु एआईजी भए पनि हालका आईजीपी केसीसँगै २०८४ चैतमा अवकाशमा जानेछन् ।
को–को छन् प्रतिस्पर्धी ?
हालका आईजीपी पछि नेतृत्वमा को रहने भन्ने दौडसमेत यही बढुवासँगै हुने देखिन्छ । हालका आईजीपी केसीका ब्याचीबाहेक २०५६ मा भर्ना भएका टोलीबाट एआईजीमा बढुवा गरिए उनीहरुबाट एकजना २०८४ चैत पछि आईजीपी बन्नेछन् ।
यो समूहबाट डीआईजीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले र विश्व अधिकारी एआईजी बढुवाका दावेबार रहनेछन् । यो समूहबाट डीआईजी बढुवाको पहिलो नम्बरमा डीआईजी खत्री छन् ।
हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हालेका खत्रीपछि क्रमशः भट्टराई, ओम अधिकारी, खनाल, काफ्ले र विश्व अधिकारी छन् । भट्टराई हाल सुदूरश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख, अधिकारी मधेश प्रदेश, खनाल कोसी प्रदेशको कमान्डर छन् ।
काफ्ले नेपाल प्रहरीको प्रवक्ताको भूमिकामा छन् भने विश्व अधिकारी प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा रहेका छन् । सबैभन्दा बढी पेचिलो बढुवा यही समूहबाट हुने देखिन्छ । सरकारले हालका आईजीपीकै ब्याचीबाट बढुवा गरेको खण्डमा उनीहरुको बढुवा केही पर धकेलिने छ ।
तर, यही पुस ५ पछि बढुवामा फड्को मार्ने अधिकारीलाई भने आईजीपी बन्ने ढोका खुल्नेछ ।