२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

नेपाल प्रहरीको पोसाकहरु खरिदमा अनियमितता

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

काठमाडौं नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी प्रधान कार्यालय भण्डारण शाखाले बिनाहिचकिचाहट बुझेको छ। अहिले ठेकेदारले बुझाएका जर्सी, बुट, झोला, चुस्ता, ऊनका सर्ट पाइन्ट, कटन पाइन्ट, ट्र्याक सुट, ब्यारेक क्याप, टप बुट पार्कर ज्याकेट स्वीकृत नमुनाभन्दा फरक छन्। ठेक्का सम्झौतामा फागुनभित्र सबै सामान बुझाइसक्नुपर्छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लत्ताकपडाका सामान सबै आउन थालिसकेका छन्। जसमध्ये टप बुट २४ हजार जोडी आइसकेका छन्। डिएसएम बुट पनि आउन थालिसकेको छ।
टेन्डर गर्दा नमुना परीक्षण गरी स्वीकृत गरिन्छ। त्यसैअनुसार ठेकेदारले सामान ल्याउने कबुल गरेपछि मात्रै ठेक्का दिइन्छ। तर ठेकेदारले दाखिला गर्ने बेलामा स्वीकृत नमुनाभन्दा फरक सामान हुन्छ। यसमा आर्थिक अनियमितता भएको स्रोतको दाबी छ।
प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा स्रोतका अनुसार लत्ताकपडा खरिदमा मात्रै प्रहरीले ७३ करोड रुपैयाँको टेन्डर गरेको थियो। लत्ताकपडाको नमुना परीक्षण नेपालको नापतौल तथा गुणस्तर विभागमा हुँदैन। भारतको इन्टरटेक प्राइभेट लिमिटेडमा परीक्षण गराइन्छ। भण्डारण शाखाले सामान पठाउँदा त्यहाँ सिलबन्दी गराउँदैन। जुन ठेकेदार कम्पनीले सामान बुझाएको हो, उसैलाई नमुना परीक्षणका लागि भारत पठाइन्छ।
‘ठेकेदारलाई नै नमुना परीक्षणका लागि सामान पठाउँदा उसले कस्तो रिपोर्ट लिएर आउला सहजै अनुमान गर्न सकिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। स्रोतका अनुसार प्रहरी प्रबन्ध शाखामा रहेका कर्मचारी र ठेकेदारबीच मिलेमतो हुने गरेका कारण प्रहरी कर्मचारीले स्वीकृत नमुनाअनुसार विगत तीन वर्षदेखि कपडा पाएका छैनन्।
दुई वर्षसम्म टिक्नुपर्ने डिएसएम बुट चार महिनामा तलुवा उप्किने गरेको तथा ६ महिनामा फाट्ने गरेको छ। त्यसैगरी कपडाको रङ खुइलिने र च्यातिने गरेका कारण प्रहरी कर्मचारीले अर्को कपडा किन्नुपरेको छ।
सेटिङमा नमुना परीक्षण भएकाले अनियमितता हुने गरेको रहस्य खुलेको एक प्रहरी कर्मचारीले बताए। ‘एक वर्षदेखि हामीले यो कुरा प्रबन्ध शाखाका प्रमुखलाई भन्यौं तर उहाँले वास्ता गर्नुभएन। अहिले सामान आउन थालेको छ। के–कस्तो प्रक्रियाले सामान बुझाउँदा रहेछन् भनेर हामीले नियाल्दा सेटिङमा काम भएको पाइयो,’ ती प्रहरीले भने।
सिन्डिकेटको जालो
स्रोतका अनुसार प्रहरीको लत्ताकपडा खरिद टेन्डरमा पाँचजना व्यापारीको सिन्डिकेट चल्दै आएको छ। व्यापारी पीताम्बर मुन्का, रितेश अग्रवाल, वीरेन्द्र जोशी, टोपेन्द्र बिसी र ज्ञानेन्द्र बस्नेतले सबै ठेक्कामा बेग्लाबेग्लै नाममा टेन्डरमा भाग लिने गरेका छन्। चार वर्ष अघिसम्म सो समूहभित्र श्रवण अग्रवाल पनि थिए। हाल उनले नेपाल प्रहरीको टेन्डरमा सहभागिता जनाउन छाडेका छन्।
पूर्वप्रहरी कर्मचारीसमेत रहेका बस्नेतले त्यहाँको सेटिङ मिलाउने र टप बुट तथा डिएसएम बुटको ठेक्का लिने गरेका छन्। लामो समय प्रबन्ध शाखा र कल्याण शाखामा बसेर अवकाश लिएका उनले प्रबन्ध शाखाका प्रमुखमार्फत कमिमसन दर मिलाउने गरेका छन्।
‘बस्नेतकै सेटिङमा नमुना परीक्षण हुने गरेको छ। भारतीय कम्पनी इन्टरटेक प्राइभेट लिमिटेडका म्यानेजर हेमन्त प्रतापलाई नेपाल आएका बेला बस्नेतकै खर्चमा राखिन्छ र उनैले क्यासिनोमा समेत लैजान्छन्,’ स्रोतले भन्यो।
पछिल्लो दुई वर्षमा खरिदसम्बन्धी प्रहरीका सम्पूर्ण फाइल लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थाले पनि लत्ताकपडाका विषयमा भने सरोकार राखेको छैन।
ठेकेदारसँग मिलेमतो गरेर खरिदमा अनियमितता गरेको उजुरी परेसँगै अख्तियारले छानबिन थाले पनि नमुना परीक्षण कसरी गरिन्छ, त्यहाँ कसलाई पठाइन्छ भन्नेतर्फ अख्तियारले समेत चासो नदिएपछि यो वर्ष पनि ढुक्क भएर स्वीकृत नमुनाभन्दा फरक सामान बुझ्न थालिएको स्रोतले जनाएको छ।
नागरिक दैनिकबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!