२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

नेपाल प्रहरीको पोसाकहरु खरिदमा अनियमितता

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

काठमाडौं नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी प्रधान कार्यालय भण्डारण शाखाले बिनाहिचकिचाहट बुझेको छ। अहिले ठेकेदारले बुझाएका जर्सी, बुट, झोला, चुस्ता, ऊनका सर्ट पाइन्ट, कटन पाइन्ट, ट्र्याक सुट, ब्यारेक क्याप, टप बुट पार्कर ज्याकेट स्वीकृत नमुनाभन्दा फरक छन्। ठेक्का सम्झौतामा फागुनभित्र सबै सामान बुझाइसक्नुपर्छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लत्ताकपडाका सामान सबै आउन थालिसकेका छन्। जसमध्ये टप बुट २४ हजार जोडी आइसकेका छन्। डिएसएम बुट पनि आउन थालिसकेको छ।
टेन्डर गर्दा नमुना परीक्षण गरी स्वीकृत गरिन्छ। त्यसैअनुसार ठेकेदारले सामान ल्याउने कबुल गरेपछि मात्रै ठेक्का दिइन्छ। तर ठेकेदारले दाखिला गर्ने बेलामा स्वीकृत नमुनाभन्दा फरक सामान हुन्छ। यसमा आर्थिक अनियमितता भएको स्रोतको दाबी छ।
प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा स्रोतका अनुसार लत्ताकपडा खरिदमा मात्रै प्रहरीले ७३ करोड रुपैयाँको टेन्डर गरेको थियो। लत्ताकपडाको नमुना परीक्षण नेपालको नापतौल तथा गुणस्तर विभागमा हुँदैन। भारतको इन्टरटेक प्राइभेट लिमिटेडमा परीक्षण गराइन्छ। भण्डारण शाखाले सामान पठाउँदा त्यहाँ सिलबन्दी गराउँदैन। जुन ठेकेदार कम्पनीले सामान बुझाएको हो, उसैलाई नमुना परीक्षणका लागि भारत पठाइन्छ।
‘ठेकेदारलाई नै नमुना परीक्षणका लागि सामान पठाउँदा उसले कस्तो रिपोर्ट लिएर आउला सहजै अनुमान गर्न सकिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। स्रोतका अनुसार प्रहरी प्रबन्ध शाखामा रहेका कर्मचारी र ठेकेदारबीच मिलेमतो हुने गरेका कारण प्रहरी कर्मचारीले स्वीकृत नमुनाअनुसार विगत तीन वर्षदेखि कपडा पाएका छैनन्।
दुई वर्षसम्म टिक्नुपर्ने डिएसएम बुट चार महिनामा तलुवा उप्किने गरेको तथा ६ महिनामा फाट्ने गरेको छ। त्यसैगरी कपडाको रङ खुइलिने र च्यातिने गरेका कारण प्रहरी कर्मचारीले अर्को कपडा किन्नुपरेको छ।
सेटिङमा नमुना परीक्षण भएकाले अनियमितता हुने गरेको रहस्य खुलेको एक प्रहरी कर्मचारीले बताए। ‘एक वर्षदेखि हामीले यो कुरा प्रबन्ध शाखाका प्रमुखलाई भन्यौं तर उहाँले वास्ता गर्नुभएन। अहिले सामान आउन थालेको छ। के–कस्तो प्रक्रियाले सामान बुझाउँदा रहेछन् भनेर हामीले नियाल्दा सेटिङमा काम भएको पाइयो,’ ती प्रहरीले भने।
सिन्डिकेटको जालो
स्रोतका अनुसार प्रहरीको लत्ताकपडा खरिद टेन्डरमा पाँचजना व्यापारीको सिन्डिकेट चल्दै आएको छ। व्यापारी पीताम्बर मुन्का, रितेश अग्रवाल, वीरेन्द्र जोशी, टोपेन्द्र बिसी र ज्ञानेन्द्र बस्नेतले सबै ठेक्कामा बेग्लाबेग्लै नाममा टेन्डरमा भाग लिने गरेका छन्। चार वर्ष अघिसम्म सो समूहभित्र श्रवण अग्रवाल पनि थिए। हाल उनले नेपाल प्रहरीको टेन्डरमा सहभागिता जनाउन छाडेका छन्।
पूर्वप्रहरी कर्मचारीसमेत रहेका बस्नेतले त्यहाँको सेटिङ मिलाउने र टप बुट तथा डिएसएम बुटको ठेक्का लिने गरेका छन्। लामो समय प्रबन्ध शाखा र कल्याण शाखामा बसेर अवकाश लिएका उनले प्रबन्ध शाखाका प्रमुखमार्फत कमिमसन दर मिलाउने गरेका छन्।
‘बस्नेतकै सेटिङमा नमुना परीक्षण हुने गरेको छ। भारतीय कम्पनी इन्टरटेक प्राइभेट लिमिटेडका म्यानेजर हेमन्त प्रतापलाई नेपाल आएका बेला बस्नेतकै खर्चमा राखिन्छ र उनैले क्यासिनोमा समेत लैजान्छन्,’ स्रोतले भन्यो।
पछिल्लो दुई वर्षमा खरिदसम्बन्धी प्रहरीका सम्पूर्ण फाइल लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थाले पनि लत्ताकपडाका विषयमा भने सरोकार राखेको छैन।
ठेकेदारसँग मिलेमतो गरेर खरिदमा अनियमितता गरेको उजुरी परेसँगै अख्तियारले छानबिन थाले पनि नमुना परीक्षण कसरी गरिन्छ, त्यहाँ कसलाई पठाइन्छ भन्नेतर्फ अख्तियारले समेत चासो नदिएपछि यो वर्ष पनि ढुक्क भएर स्वीकृत नमुनाभन्दा फरक सामान बुझ्न थालिएको स्रोतले जनाएको छ।
नागरिक दैनिकबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!