सागर थापा
काठमाडौं भर्खरै बिहानी हुँदै थियो, एरपोर्ट नजिक सुचना बिभाग पछाडी रहेको गल्लिमा एक महिला बाटोमा एकोहोरो हेरिरहेको थिइन । सायद चिया खान मानिस आउँछन कि भनेर होला । धेरै बेर सम्म टोलाइसकेपछि उनी चिया बनाउन लागीन । म पनि चिया खान उनको चिया स्टल तिर लम्किए । उनले तातो चिया दिँदै भनिन- भाइ यो कोरोना कहिले जान्छ ? उनको प्रश्न अनपेक्षित रुपमा मतिर ठोक्किँदा म झस्किएँ । अन्तरकुन्तर मनमा प्रश्न खेली रह्यो तर उत्तर भेटाउन सकिन । उनी अँजै उत्तरको प्रतीक्षामा थिइन क्यार । म उत्तर दिन सक्ने अवस्थामा थिएन ।
उनले फेरि म तिर अर्को प्रश्न तेर्साइन । भाई भुकम्प पिडितले पाउने पैसाको किस्ता सरकारले कहिले दिन्छ?
मैले उत्तर खोज्ने प्रयास गरेँ अनि सोधेँ- दिदि के भयो र? के तपाईं भुकम्प पीडित हो? के समस्या भयो र?
यति सुनिसकेपछि उनी कुरा गर्न तम्सिइन । सायद उनले आफ्नो मनको बह र पिडा बाहिर ल्याउन नपाएको धेरै भएको थियो त्यसैले सुनिदिने ब्यक्ति भएपछी उनले आफ्नो व्यथा सुनाउन थालिन । सायद उनी आफ्नो कथा मार्फत आफ्नो जिवनको पीडा बगाउने प्रयासमा थिइन ।
उनले भनिन् – मेरो नाम बिन्दा खड्का हो । मेरो घर दोलखा हो । भुकम्पपछी मेरो घर भत्कियो । घर भत्किएपछी केही समय टेन्टमा बसेँ अनि भुकम्पका साना-साना धक्का आउन लागेपछी डरले रातारात श्रीमान छोरा छोरी लिएर काठमाडौँ आएँ । यहाँ श्रीमानले रोजगारी खोज्नु भयो तर पाउनु भएन । के गर्ने आफू भोको पेट बसे पनि छोरा-छोरीलाई भोको पेट बसेको हेर्न सकिँदो रहेनछ सर ।
अनि २-४ दिन मजदुरी गरेँ । कहिले पैसा पाउँथे त कहिले रित्तै हात फर्किन्थेँ । पैसा पाएपछी आफुले कम खाएर छोरा छोरी र श्रीमानलाई खुवाउँथे तर बाँच्ने आधार थिएन । बस्न र सुत्न छाप्रो थिएन । त्यस बेला मनमा लाग्थ्यो यो संसारमा त मर्न भन्दा बाँच्न पो गार्हो हुँदो रहेछ । मर्न त धेरै सजिलो छ सर तर परिश्रम गरेर बाँच्न पो गार्हो छ । हाम्रो देशमा त सोझो ब्यक्तिलाई बाँच्न गार्हो छ तर बदमासी गर्नेलाई धेरै सजिलो छ ।
बिन्दा खड्का
केही समयपछि नाता पर्ने नातेदारहरुको सहयोगमा ठेलागाढामा चिया पसल संचालन गरेँ । ठेलागाढामा चिया पसल सुरु गरेपछि जिविकोपार्जन गर्न धेरै सजिलो भयो । अहिले भने कोरोना आएपछी फेरि पहिलाकै अवस्थामा पुगेकि छु । अस्ति मेरो श्रीमान भुकम्प पिडितको किस्ता बुझ्न जानू भयो तर पाउनु भएन । सरकारले अब पैसा नदिने अरे । यो सरकारपनी मन लाग्दो गर्छ । हाम्रो पैसा किन रोकेको होला त्यसै । अहिले बिहान खायो साँझ के खाने अवस्थामा छौँ । अब यो कोरोना कहिले सिद्दिन्छ होला…..?
यति सुने पश्च्यात मेरो मन भारी भयो तरपनी कुनै उत्तर दिन सकिन । मनमा अनेक भाव-भङ्गिमा आइनै रहे तर उनको प्रश्नवाचक चिन्ह मिश्रित कथाको आन्तर्यको उत्तर अँजै दिन सक्ने आँट रहेन र लुख्रुक्क पर्दै आफ्नो बाटो लागेँ ।
बिन्दा खड्का त नेपाली समाजको एउटा प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता लाखौँ नेपालीहरुको अवस्था दयनीय बन्दै गएको छ । यता नेपाली जनताहरु दिनप्रतिदिन दयनिय जीवन निर्वाह गर्न बाध्य छन भने केही मुठ्ठी भरका व्यक्तिहरु भने यस्तो बेलापनी समाजमा भ्रष्टाचार थोपर्न ब्यस्त छन । कोरोना महामारी केही साशक र शासन चलाउनेहरुका लागी आगामी चुनावको खर्च जोगाउने, लुकाउने,बचाउने तथा जिताउने बस्तु बन्न गएको छ ।