प्रकशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०९:१८

जेठ ८, २०७५ चितवन :
नेपालका संरक्षित क्षेत्रका वन्यजन्तु चोरी शिकारीमा कमी आए पनि वन्यजन्तुका लागि अत्यावश्यक घोल र घाँसे मैदान संरक्षणमा भने चुनौती थपिँदो छ।

जलवायु परिवर्तनका कारण घोल र घाँसे मैदान खुम्चने तथा मिचाहा प्रजातिका झार र बाढी पहिरोका कारण घोल, ताल र घाँसे मैदनमा क्षति पुग्दै आएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समेत यसमा खासै ध्यान दिन सकेको छैन। सीमित कार्यक्रम ल्याएर सामान्य सरसफाइ र व्यवस्थापनको काम गरेपनि ती कार्यक्रम खसै प्रभावकारी भएका छैनन्।

व्यवस्थापनको काम कम र खुम्चने क्रम अधिक हुँदा वन्यजन्तुहरू प्रभावित हुने गरेका छन्। चितवन निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा. कमल गैरे बाढी पहिरोले पनि यहाँका वन्यजन्तुको बासस्थानमा ठूलो क्षति भैरहेको र घाँसे मैदान, ताल, घोल प्रभावित भएको बताउँछन्।

गैंडा र बाघले आहाराका लागि धेरै ठाउँ डुल्नुपर्ने अवस्था आउनुमा पनि ताल र घाँसे मैदान जोगाउन नसक्नु एउटा कारण हो। गैंडाविज्ञ डा. नरेश सुवेदीले गरेको अध्ययनले पनि गैंडाको आहारा खोजी गर्ने दायरा फराकिलो हुँदै गएको निष्कर्ष निकालेको थियो। आहाराको खोजीमा डुल्दा जनावरहरु आपसमा जुधेर मर्ने क्रम बढ्दै गएको छ।

चितवनमा पछिल्लो तीन महिनाको अवधिमा मरेका चार वटा बाघबारे अनुसन्धान गर्दा अन्तरसंघर्ष कै कारण मृत्यु भएको र आहाराको संघर्ष देखिएको गैरेले बताए। यसअघि पटकपटक गैंडा पनि जुधेर मरेको तथ्यांक छ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक पनि निकुञ्जका धेरै तालतलैया चुरेबाट आउने पानीबाट बनेकाले बाढी पहिरोले सुकेको र खुम्चिएको बताउँछन्। व्यवस्थापनको काम निकुञ्जले गर्दै आएको भएपनि सानो कार्यक्रम आउँदा सम्भव हुन सकेको छैन। पाठकका अनुसार घाँसेमैदान व्यवस्थापनमा आधुनिकीकरण र प्रविधिको प्रयोग जरुरी छ।

निकुञ्ज स्थापनाताक घाँसै मैदान २० प्रतिशत रहेकोमा अहिले घटेर ६ प्रतिशतमा आउनुले पनि यसको चुनौती प्रष्टिन्छ। जैविक विविधता दिवस मनाइरहँदा ताल र घाँसे मैदानको संरक्षणमा ध्यान दिन जरुरी भएको नेचर गाईड डोमा पौडेल बताउँछिन्। निकुञ्जभित्र वन्यजन्तुको चहलपहल हुने लघुना ताल र थपलिया ताल सुकिसकेका छन्। वन्यजन्तु प्रभावित नहोस् भनेर तालमा पानी ल्याउने प्रयास विभिन्न निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिंदै आइएको छ।

विशेषगरी खडेरीको समयमा तालतलैया र घोल बढी प्रभावित हुँदै आएको छ। कतिपय ठूला तालहरु जलकुम्भी र करौंते झारले भरिएका छन् भने कतिपय तालहरुमा पानीको सतह घट्दै गएको चितवन निकुञ्जले जनाएको छ। चितवन निकुञ्जको पानीको स्रोतहरु चुरे क्षेत्र हो। चुरे क्षेत्रमा वन विनास हुँदै जानु पनि ताल सुक्नुको अर्काे कारण हो।

वन र पानीको मुहान संरक्षणमा निकुञ्ज आसपास मात्रै होइन माथिल्लो मुहान क्षेत्रका बासिन्दा समेत चनाखो हुनु जरुरी छ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्याल बताउँछन्। चितवन निकुञ्जमा मात्रै ५६ वटा महत्वपूर्ण ताल छन्।

निकुञ्जमा तमोरताल, लामीताल, देवीताल, गरुडताल, कमलताल र कोरिडोरमा महत्वपूर्ण बीसहजारी ताल छन्। यी तालहरु मिचाहा झार र प्राकृतिक कारण माटो भरिएर खुम्चँदै गएका छन्। तालमा मुख्यगरी गैंडा रमाउँछ। बाघ, चित्तललगायत अन्य जनावरहरू पानी खान तालमा पुग्छन्। गोहीको मुख्य बासस्थान निकुञ्जभित्रका ताल हुन्।

ताल सुक्दा वन्यजन्तुलाई नै नराम्रो असर पुग्छ। ताल र घाँसै मैदान नङ र मासु जस्तै सम्बन्ध हुन्छ। यो दुई क्षेत्र नभए जैविक विविधता हराउँछन्। तर यति महत्त्वपूर्ण विषयमा भने राज्यले लगानी कञ्जुस्याइ गरेको गुनासो संरक्षणकर्मी जितु तामाङको छ।

निकुञ्ज विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलिया विभागबाट जोगाउने प्रयासहरु भैरहेपनि घोल र घाँसेमैदान संरक्षणमा चुनौती भने रहेको बताउँछन्।
स्रोत:थाहा खबर


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com