०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

हुम्ला बासी मारमा दैनिक २० घण्टा लोडसेडिङ बिधुत कर्मचारीको बेवास्ता

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

ABC Sanchar
हुम्ला । सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।

विद्युत गृहमा पानीको स्रोत कम हुँदा विद्युत उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । हिल्दुम साना जलविद्युतआयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन् । विद्युत आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ । सिमकोटमा यस्ता फर्निचर व्यवसाय सातवटा भएको र लोडसेडिङ बढेपछि ती सबै बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले जानकारी दिए ।

त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका सुनमति सिंहले गुनासो पोखे । दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहँदै आएको सिंहले बताए । दैनिक लोडसेडिङको समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्यवसाय मर्कामा परेका छन् ।

लोडसेडिङको समय बढ्दै गएपछि विद्यार्थीलाई थप समस्या बनाएको छ । राति १० बजेपछि मात्रै विद्युत आपूर्ति हुँदा विद्यालयमा दिएको गृहकार्य गर्न समस्या बनाएको मानसरोवर माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा एञ्जिला रोकायाले बताइन् । यस्तै जेठमा हुने एसईईको तयारी गरिरहेका छात्रछात्रालाई झन् समस्या बनाएको छ । गाउँबाट ट्युसन पढ्नका लागि सदरमुकाम सिमकोट आएका विद्यार्थीलाई दैनिक २० घण्टा लोडसेडिङ हुँदा समस्या बनाएको छ ।

विद्युत अवरुद्ध हुँदा जिल्ला अस्पताल हुम्लालाई समेत समस्या भएको छ । दिउँसो समयमै विद्युत आपूर्ति नभएर लोडसेडिङ हुँदा विद्युतको माध्यमबाट हुने काम ठप्प भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । यस्तै सदरमुकाम सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्नसमेत समस्या बनाएको छ ।

हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत गृहका लागि पानीको स्रोत कम हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । उनले भने, ‘५०० किलोवाट विद्युत उत्पादन गर्ने आयोजनाबाट हाल १४० देखि १५० किलोवाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । यसले झन् समस्या परेको हो ।’ वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० सेवाग्राहीलाई दैनिक एक मेगावाट विद्युत वितरण गर्नुपर्नेमा उत्पादनकै कमीले गर्दा लोडसेडिङ गर्नुको विकल्प नभएको उनले बताए ।

पानीको स्रोत कम भएपछि आयोजना नजिकको लाङ्दुखोलाबाट पानी ल्याएर मूल नहरमा मिसाउने कामका लागि बोलपत्र भएको तर काममा ढिलाइ भएका कारण पनि समस्या आएको उनले बताए । केन्द्रले निर्माण व्यवसायीलाई छिटो पानी ल्याएर मूल नहरमा मिसाउने काम गर्न ताकेता गरिसकेको प्रमुख ऐडीले बताए । पानी अपुग हुने भएर वितरण केन्द्रले विद्युत गृहमा दुईवटा स्टक पानी ट्याङकी बनाए पनि यसको प्रयोग आउन सकिरहेको छैन । ठेकेदारले बर्सेनि मर्मतका नाममा आफूले पैसा लिन पाउने भएका कारण पनि यस्तो समस्या आउने गरेको हो । ठेकेदारले मर्मतका नाममा बर्सेनि पैसा खान पाउने भएपछि समयमै मर्मत गर्न नसकेको एक स्थानीयवासीले बताएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!