२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सुजिताको मृत्यु प्रकरणको अनुसन्धान गर्न युट्यूवरहरुको भीड स्थानीयवासीहरु आक्रोशित

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

(विप्लव काफ्ले)
चितवन । आजकाल देशको कुनै पनि कुनामा हुने आपराधिक घटनामा प्रहरीभन्दा पहिले युट्यूवर पुग्छन् । श्रीमान-श्रीमतीको घर झगडादेखि ठूला अपराधमा युट्यूवरको खोजविनले प्रहरी अनुसन्धानलाई नै प्रभावित तुल्याउने गरेका पाइन्छ ।

चितवनकी युवती सुजिता भण्डारीको मृत्यू प्रकरणमा पनि युट्युवरहरुको ‘अनुसन्धान’ चर्को छ । सुजिता वेपत्ता भएदेखि नै युट्यूवमा अनेकथरि भिडियोहरु छ्याप्छ्याप्ती भइसकेका थिए । उनको शव भेटिएपछि देशका विभिन्न स्थानबाट युट्यूवर चितवनमा आएर दौडधुप गरिरहेका छन् ।

यसैक्रममा नाम चलेका एक युट्युबर भोजराज थापा विवादमा तानिए । उनी सुजिता वेपत्ता भए लगत्तै ‘अनुसन्धान’ का लागि चितवन आएका थिए । जंगलमै भिडियो खिच्ने क्रममा स्थानीयवासी उनीसँग आक्रोशित बने । मृतककी आमालाई ‘अलि मिलाएर रुन’ भनेको आरोप स्थानीयवासीले उनीमाथि लगाएका छन् ।

भोजराजको युट्युव च्यानल मेचीकाली खबरमा ‘घना जंगलमा सुजिता यसरी भेटिइन्’ भन्दै भिडियो पोष्ट भएको छ । १४ मिनेट लामो भिडियोमा अन्त्यतिर अन्त्यतिर पृष्ठभूमिमा एक पुरुष बोलेको सुनिन्छ ।

‘घरमा पीर परिरहेको हुन्छ, मिलाएर रोउ रे, रुने पनि मिलाएर हुन्छ ?’ भन्दै एकजनाले असन्तुष्टि जनाएका छन् ।

हाम्रो राप्ती ८८.५ एफएमले युट्युबर थापा राप्तीबाट लखेटिएको भन्दै गरेको एउटा भिडियो पोष्ट गरेको छ । भिडियोमा स्थानीयसँग भोजराजको भनाभन भएको देखिन्छ । त्यहाँ पनि ‘मिलाएर रुन’ भनेको आरोप स्थानीयले उनलाई लगाएका छन् । भोजराजले त्यसको प्रतिवाद गरेका छन् ।

त्यही भीडमा एक स्थानीय भन्छन्, ‘यस्तो दुखका बेला जंगलमा हल्ला, झगडा गर्ने, तलै गएर छलफल गरे हुन्छ नि, फेरी अर्को दशा नलागोस् ।’

भोजराज असार ११ मा सुजिता वेपत्ता भएको खबर थाहा पाएपछि ३ दिनमै उनको घर पुगेका थिए । आमाको अन्र्तवार्ता लिने क्रममा मिलाएर रुन लगाएको, बोल्न सिकाएको आरोप सामाजिक सञ्जालमा फैलिएको थियो । भोजराजले आफूमाथिको आरोप खण्डन गरेका छन् ।

मृत्यु प्रकरणमाथि निष्पक्ष छानविन हुनुपर्ने मागसहित स्थानीयले करिब ८ घण्टा राजमार्गमा प्रदर्शन गरेपछि पोष्टमार्टमका लागि शव भरतपुर ल्याउन ढिलो भयो । राती निकै अबेर शव भरतपुर एम्बुलेन्समा ल्याइएको थियो । पोष्टमार्टम गर्दा परिवारले समेत हेर्न पाउनुपर्ने माग राखेकाले मृतकका परिवार पनि भरतपुर आए ।

छोरी भेटिने आशमा रहेकी आमा अम्बिकाले छोरीको शव देख्दा भावविव्हल बनेकी थिइन् । तर, त्यही अवस्थामा आमासँग राती १२ बजे भोजराजले अन्तरवार्ता लिन खोजेका थिए ।

भोजराजले आज आफ्नो युट्यूव च्यानलमा फेरि आमालाई आफ्नो बचाउमा बोल्न लगाएका छन् । ‘भोजराज थापालाई गलत आरोप लागेपछि, सुजिताकी आमा चिन्तित हुदै मिडियामा’ भन्दै भिडियो अपलोड भएको छ । भिडियोमा भोजराजले आमालाई सोध्छन्, ‘के भन्नुहुन्छ आमा, मलाई अहिले यसरी आरोप लागेको छ, तपाई थाहा छ नि यो विषयमा ?’

अम्बिका नबोलेपछि उनी फेरी सोध्छन्– ‘मैले तपाईलाई जबरजस्ती रुन लगाएको हो र आमा ?’

अम्बिका भन्छिन्, ‘आमालाई त अहिले बोल्दा पनि आँशु आउँछ नि । नानीको अवस्था हेर्नु त त्यहाँ कस्तो छ ?’

सोही भिडियोमा भोजराजले भनेका छन्, ‘केही व्यक्तिको आक्रोशले गर्दा म त्यो भीडबाट निस्केँ । मप्रति अमानविय व्यवहार भएको थियो । म लखेटिएको थिइनँ । कुटपिट भएको छैन ।’

अर्का चर्चित युट्युबर सन्तोष देउजा पनि विवादमा परेका छन् । उनले सुजिता भण्डारी हराएदेखि नै भिडियो बनाएर पोस्ट गर्दै आएका थिए । सुजिताले के भनिन् भनेर राखिएको भिडियोमा उनले बोलेका कुराहरु विवादित बनेका हुन् ।

उनले आफूलाई अनुसन्धानकर्ताको रुपमा प्रस्तुत गर्दै भनेका छन्– ‘तिमीले खराब काम गरिसक्यौ । सकुशल जहाँबाट उठाएका थियौ, त्यहीँनेर छोडिदेउ । र, हामीसँग यो केस आइसकेपछि हामीले लिइसकेका छौँ । लिइसकेपछि हामी फेरी छोड्दैनौँ है । तिमी अपहरणकारी होस् या जेसुकै होस, हामी धेरै ठाउँ विदेश पनि गएर तिमी जस्तालाई घोक्र्यायाएर ल्याएको धेरै एक्जाम्पल छन् ।’

स्मरणीय के छ भने प्रहरीले अहिलेसम्म सुजिताको अपहरण भएको हो या होइन, हत्या हो या आत्महत्या भन्ने निष्कर्षमा पुग्न सकेको छैन ।

शव भेटिएपछि निराश बनेकी एक छिमेकी महिला भन्छिन्, ‘युट्यूवमा यसरी नबजाएको भए उनी जिउँदै फर्किन्थिन् कि जस्तो पनि लाग्छ ।’

शोकमा परेकी सुजिताकी आमालाई ढाढस दिन बसेका महिलाहरु अब युट्युवरहरुसँग बोल्दा सतर्क हुनुपर्ने बताउँदै थिए । युट्यूवरसँग तर्सेका उनीहरु अन्य मिडियाकर्मीसँग पनि खुलेर बोल्दैनन् ।

एक महिलाले भनिन्, ‘युट्युवमा बोल्नु त नहुने रहेछ ।’

युट्यूवमा अहिले सुजिता भण्डारीसँग सम्वन्धित भिडियोहरु छ्याप्छ्याप्ति छन् । ती भिडियोमा कतिपय अपुष्ट र अतिरञ्जित शीर्षक राखेर दर्शकलाई दिग्भ्रमित पारिरहेको देखिन्छ ।

केही भिडियोका शीर्षक यस्ता छन्ः

‘अपहरणकारीले १० लाख मागेका रहेछन्, नदिएपछि बलात्कार गरी मारेको खुलासा ।’

‘सुजिता भण्डारी अपहरणकारी भेटियो, खुल्यो सबै वास्तविकता ।’

‘सबै पर्दाफास भयो घटना, ३ जनाल बलत्कार गरेका रहेछन् ।’

सुजिता भण्डारी काण्डबारे पुण्य गौतम आक्रोशित हुँदै मिडियामा’

अन्ततः सुजिताको मोबाइल चेक गर्दा सबै पर्दाफाश, अपहरण गरेर दिनरात बलात्कार गरी मारेको आशंका।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]