२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं बानेश्वर दिनहुँ जसो किन बन्दैछ रणभूमि ? सडक जाम

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८


(ABC-Sanchar)
काठमाडौं । एमसीसीको विषयलाई लिएर नेपाली नेपालीबीचको झगडाले काठमाडौँक‍ो बानेश्वर रणभूमि बन्न थालेको छ । तर, एमसीसी के हो भन्ने कुरा धेरैलाई थाहा नभए पनि सबैको मुखमा यो विषय झुन्डिएको छ । हामी नेपालीहरूको दिमागले गलत कुरा छिटो टिप्छ । तर, सत्य कुरा पटक भने पनि टिप्दैन । यही कारणले होला हामीभन्दा अविकसित मुलुकहरू केही वर्षमै आधुनिक र विकसित बनिसके । हामी भने भर्खर त्यसको सिको गरिरहेका छौँ, तर त्यो पनि कसैले उचालेको र पछारेको भरमा ।

एमसीसीको पचास अर्ब रूपैयाँ किन चाहियो, चाहिने नै हो भने नेपालको संविधानभन्दा माथि राखेर संसद्बाट पारित किन गर्नु ? भनेर धेरैले भन्दैछन् । यति मात्र होइन एमसीसी भित्र्याउने फलानो पार्टी र फलानो नेता हो, उनीहरूले आफ्नो स्वार्थ पूरा गरेर ल्याएको हो भनेर गाली गर्छन् । राष्ट्रिय स्वाधीनता खत्तम पार्न यो इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको अनुदान हो, अमेरिका हाम्रो मित्र राष्ट्र होइन, साम्राज्यवादी दुस्मन राष्ट्र हो भन्ने आरोप लगाइरहेका छन् । यसले नेपालको हित गर्दैन र यो अनुदान लिनु पनि हुँदैन भन्दैछन् ।

उनीहरूको नजरमा यी तमाम प्रश्न जायज हुनसक्छन् । आफूले सुनेको र बुझेको कुरा खुलेर राख्नुपर्छ, खुलेर विरोध गर्नुपर्छ । यो लोकतन्त्रको मूल्य र मान्यता हो । तर सुनेका र भनेका सबै कुरा सत्य नै हुन्छ भन्ने छैन । त्यसैले अरूले भनेको र सुनाएको भरमा उफ्रिनुभन्दा आफैले नजिकबाट नियालेर हेर्दा सत्यको नजिक पुग्न सकिन्छ । तर हामी त्यो गर्न जान्दैनौँ । यही कारण धेरैले अनाहकमा ज्यान गुमाइरहेका छन् । आफूलाई वीर सम्झेर गर्व गरिरहेका हुन्छन् तर सत्य त्योभन्दा निकै फरक रहेको हुन्छ । नेपालका हरेक आन्दोलनमा बाहिरी शक्तिको ठूलो भूमिका रहँदै आएको देखिन्छ । समर्थन र विरोध दुवैमा डलरको खेती भएको देखिन्छ । तर जनता भने सधैँ भ्रममा बाँचिरहेका छन् । पटक पटक भएका विभिन्न सम्झौताले नेपाललाई बर्बाद गर्दै आएको छ । राष्ट्रियता कमजोर हुँदै आएको छ । चाहे कम्युनिस्टका नाममा होस् या काँग्रेस, राजावादीका नाममा होस् या यस्तै अरू कुनै, राष्ट्रियताको व्यापार चलेको छ । तर नेपाली मौलिकताको खोजीमा कुनै राजनीतिक गतिविधि भएका छैनन् । यो कुरा विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । चाहे त्यो सात सालको आन्दोलन होस्, ४६ सालको जनआन्दोलन होस्, जनयुद्ध वा मधेस आन्दोलन नै होस्, सबैको इतिहास उस्तै प्रकारको छ । हरेकमा विदेशी शक्तिको कमान्ड छ । यसले गर्दा नेपाल पटक पटक अस्थिरतामा फस्दै आएको छ । यसको सिकार हाम्रा राजनीतिक दल र नेताहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भएका छन् । विदेशीले हामीलाई जुटाइदिए जुट्ने र फुटाइदिए फुट्ने जात रहेछौँ नेपाली ।

अहिले चलिरहेको एमसीसी विवाद पनि यसै वरिपरि केन्द्रित छ । कसैले समर्थन त कसैले विरोधको नाममा डलरको खेती गरिरहेका छन् । उनीहरूलाई नेपाल र नेपालीप्रति कुनै चिन्ता छैन । किनभने दिनदहाडै दलित महिलामाथि हिंसा बढ्दै गएको छ । व्यापक घुसखोरी र भ्रष्टाचार बढेको छ । तर सडकमा देखिएका यी आन्दोलन कहिले विभेद र भ्रष्टाचारका विरुद्धमा देखिएनन् ।

यहाँ हाकाहाकी निर्दोष मानिस मरिरहेका छन् । जात व्यवस्थाका कारण नवराज विक, शम्भु सदा, विजय राम, निरञ्जन राम, त्रिभुवन राम, रोशन रामहरूको हत्या भएको छ । कतै राज्यपक्षबाट त कतै समाजिक शासक वर्गबाटै यस्तो घटनाहरू भइरहेको छर्लङ्ग छ । तर, पनि हामी बोल्दैनौँ किन ? किनभने उनीहरूलाई यसबाट निहीत स्वार्थ पूरा हुँदैन । बरु समाजमा रहेका यस्ता विकृति विसङ्गति रहिरहे भने उनीहरूलाई डलरको खेती गर्न र राज्य शक्तिको दुरुपयोग गर्न सजिलो हुँदोरहेछ । त्यसैले विदेशीसँगको कुनै कुरा स्वदेशमा चर्किंदा यिनीहरू च्याउ जस्तै सडकमा उम्रिन्छन् । राष्ट्रियताको नारा दिएर सर्वसाधारण निरक्षर नागरिकहरूलाई प्रयोग गर्छन्, हतियार बनाउँछन् । उनीहरु चाहिँ मस्तले डलरको खेती गर्छन् अनि सता र शक्तिमा पुग्न चुनावमा खर्च गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।