२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको गतिविधि यहाँका खोरहरु भरिए

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९


(ABC=SANCHAR)
चितवन । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् ।

हाल कसरामा दुई वटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन ।

निकुञ्जको मुख्य कार्यालय कसरामा दुई वटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झन्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो ।

निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुई वटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झन्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले जानकारी दिए । कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो ।कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भने, ‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।’ यस वर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उनले जानकारी दिए।

चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो ।

उनका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ ।

बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्च दर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो ।

बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए ।

त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

error: Content is protected !!