
ABC (क्राईमबिट)
काठमाडौँ । कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व सङ्कलन गरिएको छ ।
गत आर्थिक बर्ष २०७८-७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व सङ्कलन गरिएको हो । ट्राफिकको नियम उलङ्घन गर्ने ३९ हजार ६५२ वटा सवारी साधनहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी वीरेन्द्र विकले जानकारी दिए ।
उनका अनुसार ट्राफिक प्रहरीले दुई वटा चरणमा कारबाही र राजश्व सङ्कलनको गतिविधि गर्ने गरेको छ । जस अन्तर्गत पहिलो चरण ०७८ साउनदेखि पौष महिनासम्म २० हजार ५०१ वटा सवारी साधनहरुले ट्राफिक नियम उलङ्घन गरेका छन् । ती सवारी साधनलाई कारबाही गरेर १ करोड ७१ लाख ८७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरिएको उनले बताए ।
दोस्रो चरणमा माघ महिनादेखि असार मसान्तसम्म १९ हजार ९५१ सवारी साधनहरू कारबाहीमा परेका छन् । ती सवारी साधनबाट १ करोड ६० लाख ७५ हजार ५ सय रकम राजश्व सङ्कलन भएको छ ।