२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

प्रेमीलाई कारागारबाट छुटाइदिने भनेर बोलाएर युवतीलाई बलात्कार आफै युवतीसँगै जाहेरी दिन प्रहरीमा

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (क्राईमबिट)
दाङ । कारागारमा रहेका केटा साथी छुटाइ दिने भन्दै युवतीलाई तनहुँबाट दाङमा बोलाएर बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ।

नेकपा माओवादी केन्द्रका नेता विष्णु शर्मामाथि युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी घर भई वडा नं. ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष्णु शर्मा हाल फरार छन्।
शर्मा नेकपा माओवादी केन्द्र तुलसीपुर-३ नम्बर वडा कमिटीका सचिव हुन्।

शर्मा ज्यान तथा लागुऔषध मुद्दामा १६ वर्ष कारावास सजाय भोगेर एक/डेढ वर्ष पहिलेमात्रै आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।

युवतीलाई तुलसीपुरमा बोलाएर बलात्कार गरेपछि शर्मा फरार भएको र खोजी कार्य तीव्र पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।

युवती नारायणघाटबाट नेपालगञ्ज हुँदै तुलसीपुर यसरी आइन्

चितवन कारागारमा लागुऔषध मुद्दामा दोषी ठहर भएपछि तोकिएको सजाय भुक्तान गर्न तनहुँका सुमन शाही ठकुरी बन्दी जीवन बिताइरहेका छन्।

उनलाई तनहुँ जिल्ला अदालतले एक लाख २० हजार रुपैयाँ रकम र दुई वर्ष जेल सजायको फैसला सुनाएको छ। तोकेको जरिवान रकम तिर्न नसकेपछि ठकुरी कारागार पठाइएका हुन्।

उनी ती युवतीका साथी थिए। प्रहरीसमक्ष ती युवतीले आफू पहिलादेखि ठकुरीसँग बस्दै आएकी बताइन्।

कुनै दिन सँगै दाङ तुलसीपुरका विष्णु शर्मा, सुमन शाही ठकुरी र हाल बाँकेको नेपालगञ्ज कारागारमा लागुऔषध मुद्दामा बन्दी जीवन बिताउँदै आएका नासिर (अहमद) सँगै वीरगञ्ज कारागारमा थिए।

त्यतिखेरै ठकुरीले आफ्नी प्रेमिकाबारे नासिरलाई पनि सबै कुरा भनेका थिए। चिनजान गराइदिएका थिए। त्यही भएर यो बीचमा ती युवती र नासिरको बीचमा पनि फोन सम्पर्क भइरहन्थ्यो। युवतीको वास्तविक प्रेम सम्बन्ध ठकुरी सँगै छँदै थियो।

त्यही चिनजानका कारण नासिरले ती युवतीलाई असार १० गते आफूलाई भेट्न भनेर नेपालगञ्ज कारागारमा बोलाए। युवती नारायणघाटबाट बस चढेर नेपालगञ्ज पुगिन्।

त्यो रात ती युवती नेपालगञ्जमै बास बसिन्। नासिरलाई युवतीले असार ११ गते नेपालगञ्ज कारागारमा पुगेर भेटिन्।

नासिरले उनलाई एउटा कागज दिन्छन्। बाँकी केही बोल्दैनन्। त्यो छिमेकी देश भारत उत्तराखण्डमा बस्ने जमिल अहमदको पहिचान खुल्ने त्यहाँको आधार कार्ड थियो। नासिरले युवतीलाई दाङको तुलसीपुर जान सल्लाह दिए। जहाँ एक जना साथी रहेको र उसैले सघाउने वचन दिए। नासिरले तुलसीपुरका विष्णु शर्मालाई युवतीको फोन नम्बर पठाइसकेका थिए।

काम सकेर ती युवती दिउँसो ४ बजेतिर नेपालगञ्ज बसपार्क पुगिन्। त्यससपछि बस चढिन्। बीच बाटोमा पुग्दै गर्दा माओवादी नेता विष्णु शर्माले तुलसीपुरबाट युवतीलाई फोन सम्पर्क गरे। तर, त्यतिखेर विष्णुले आफ्नो परिचय सुनिल केसी भनेर दिए।

आफूले तुलसीपुर बसपार्कमा कुरी बस्ने भन्दै ती युवतीलाई तुलसीपुर बसपार्कमै बोलाए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार युवती राति ९ बजेतिर तुलसीपुर बसपार्क पुगिन्। उनीहरू बसपार्कको एक होटलमा बास बसे। एउटै रूम भए पनि दुई अलग–अलग बेडमा सुते।

पहिलो दिन विष्णु शर्मा उर्फ सुनिल केसीले ती युवतीलाई केही गरेनन्।

सुनिल भनेर परिचय दिएका विष्णुले आफूलाई उक्त दिन आफू इप्रका तुलसीपुरभित्रकै मानिस भएको अर्थात् आफू प्रहरी नै रहेको भन्दै युवतीलाई भ्रममा पारिसकेका थिए।

डिएसपी अर्यालका अनुसार विष्णुले आफूले भनेझैं गरेमा युवतीका केटा साथी ठकुरीलाई कारागारबाट निकाली दिने विश्वास दिलाएका थिए।

साउन १२ गते खाना खाइसकेपछि सुनिल उर्फ विष्णुले युवतीलाई तुलसीपुरस्थित तुलसीपुर यातायात प्राइभेट लिमिटेडमा गएर एउटा खाली टिकट माग्न लगाए।

विष्णुकै योजना अनुसार युवतीले काउन्टरबाट कर्मचारीसँग बसको टिकट माग्न सफल भइन्।

उक्त टिकट सुनिल उर्फ विष्णुले लगे। जसमा विष्णुले जमिल अहमदको नाम लेख्दै ठेगाना भारत उत्तराखण्ड लेखेर राखे। विष्णुलाई जमिल अहमद दाङको तुलसीपुर आएको देखाउनु थियो। त्यो प्रमाण चाहिएको थियो।

त्यस दिन विष्णुले अर्कै होटलमा पुर्‍याए। डिएसपी अर्यालका अनुसार होटलमा नाम इन्ट्री गराउँदा उनले आफूलाई जमिल अहमदको नामबाट गराएका थिए।

त्यसदिन बेलुका खाना खाएपछि विष्णुले ती युवतीमाथि बलात्कार गरे। युवतीले जति अनुनयविनय गर्दा पनि उनले मानेनन्।

उनी कराउन थालेपछि जमिल अहमदलाई फसाउन प्रमाणको रूपमा यौन सम्बन्ध राख्न जरूरी रहेको भन्दै भ्रममा पारे।

‘भोलि तिम्रो स्वास्थ्य परीक्षण गर्दा तिमीमाथि बलात्कार भएको देखिनुपर्छ, अन्यथा जमिल फस्दैन,’ युवतीको बयान सम्झँदै डिएसपी अर्यालले भने, ‘म प्रहरी हुँ र त्यसो भएन भने तिम्रो प्रेमी सुमन शाही ठकुरीलाई जेलबाट छुटाउन मुश्किल हुन्छ भन्ने भ्रममा पारेको देखिन्छ।’

डिएसपी अर्यालका अनुसार जमिल अहमद को हुन्? र तिनले के काम गर्छन् भन्ने खुलिसकेको छैन। तर, प्रहरीको आशंका भने उनी लागुऔषध कारोबारी अर्थात् डिलर हुन सक्ने आशंका छ। जसलाई बलात्कार मुद्दामा फसाएर मोटो रकम असुल्ने र त्यसमध्ये केही रकम ती युवतीका प्रेमी सुमन शाही ठकुरीलाई कारागारबाट निकाल्न खर्चने योजना विष्णु र नासिरले बनाएको अनुमान प्रहरीको छ।

विष्णु बलात्कारपछि पनि युवतीसँगै जाहेरी दिन प्रहरीमा गए

साउन १३ गते शुक्रबारको दिन थियो। डिएसपी अर्याल खाना खाएपछि प्रहरीको आन्तरिक जुम मिटिङमा थिए। त्यतिखेर विष्णुले डिएसपी अर्याललाई फोन सम्पर्क गरेका थिए। तर, उनी मिटिङमा रहेको हुँदा उनको फोन उठाउन पाएनन्।

त्यसको केही समयपछि डिएसपी अर्याललाई काम विशेषले कार्यालयभन्दा बाहिर जानु पर्‍यो।
पीडिक विष्णु र ती पीडित युवतीसँगै इलाका प्रहरी कार्यालय पुगे। सुनिल उर्फ विष्णुको योजनामा युवती जमिल अहमदविरूद्ध बलात्कार मुद्दा दायर गर्न भनेर गएका थिए। विष्णु ती युवतीले जाहेरी दिँदा साक्षीका रूपमा बस्न भनेर गएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!