झापाको गौरादह नगरपालिका वडा नम्बर ८ बैराती स्कुलअगाडि एक पुरुषले गोली हानेर आत्महत्या गरेका छन्।
आफूले बोकेको पेस्तोलबाट गोली हानेर मंगलबार साँझ आत्महत्या गरेको स्थानीयवासीको उद्धृत गर्दै प्रहरीले बताएको छ।
गौरादह ८ बस्ने वीरन साहले गोली हानी आत्महत्या गरेको स्थानीयवासीले बताएका हुन्। मृतकले सुरूमा उनका भतिजालाई गोली हानेको र आफूसँग भएको पेस्तोलबाट आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको स्थानीयवासीको भनाइ छ।
गोली लागेर गम्भीर घाइते साहका भतिजा १४ वर्षीय बालकलाई उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएको छ। बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार घाइतेको अवस्था चिन्ताजनक छ। उनको उपचार भइरहेको छ।
स्थानीय स्रोतले आत्महत्या गरेका वीरन साह पूर्व प्रहरी भएको बताएका छन्। तर गोली हानी आत्महत्या गरेको घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छैन।
घटनाका बारेमा सामान्य जानकारी आए पनि यथार्थ नआएको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए।साभार