(ABC-Sanchar)
बाँके । कोहलपुर केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेटवर्क विस्तारका लागि तानिएका तारहरु अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको छ ।
केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेपाल विद्युत प्राविधिकरणलाई निश्चित शुल्क तिरेर विद्युतकै पोलमार्फत् लाइन विस्तार गरेका छन् । विद्युत प्राधिरकणकै मापदण्ड विपरीत अस्तव्यस्त तानिएका यस्ता तारहरुले बजारको सौन्दर्य क्रुप बनेको र दुर्घटनाको जोखिम समेत बढेको पाइएपछि सेवा प्रदायक संघसंस्थाकै सहमतिमा आजदेखि त्यसलाई व्यवस्थित गराउने काम सुरु भएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।
‘विद्युतका पोलबाट तानिएका यस्ता तारहरु कतै लत्रिएको, कतै पोलमा अस्वभनीय गुजुल्टा परेको देखियो, यसले बजारको सान्दर्यलाई पनि क्रुप बनाएको महसुस भयो,’ नगर प्रहरी प्रमुख थापाले भने–‘तलसम्म झुण्डिएका तारका कारण दुर्घटनाको जोखिम समेत देखेपछि त्यसलाई व्यवस्थित बनाउन सुरु गरिएको हो ।’ त्यसलाई व्यवस्थित गर्नका लागि सम्बन्धित केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाका प्राविधिकसहित नगर प्रहरीको टोली परिचालन गरिएको छ ।
कोहलपुर नगरपालिकाको चौराहबाट यो अभियान सुरु गरिएको जानकारी दिँदै थापाले व्यवस्थित नगरका लागि आफूहरुले प्रयास जारी राखेको बताए । यो अभियानका क्रममा पोलमा झुण्डिएका प्रयोगविहीन पुराना तारहरु सबै हटाइने छ । यस्तै विद्युत प्राधिकरणको मापदण्ड अनुसार विद्युत प्राधिकरणको तल्लो तार भन्दा दुई फिट मुनी र डेढ फिटको बीचमा मात्रै उनीहरुले तारहरु विस्तार गर्न पाउनेछन् । त्यसो गर्दा तारहरु लत्रिने, गाडीहरु क्रस गर्दा चुँडिने जोखिम टर्नेछ । हालको अवस्थामा सेवाप्रदायक संघसंस्थाहरुले तारको ठूल्ठूला गुच्छा पोलमा गुजुल्टो पारेर छाड्ने गरेका छन् ।
अब उनीहरुले त्यसलाई सानो बनाएर व्यवस्थित तरिकाले मात्रै राख्नुपर्नेछ । यस्तै कुन नेटवर्कको तार हो ? त्यसको पहिचानका लागि डिवी वक्स भएको पोलमा संस्थाको पहिचान समेत उल्लेख गर्नुपर्नेछ । यस्तै सेवा प्रदायक संघसंस्थाहरुले विस्तार गरेको तार नलत्रियोस् भन्नका लागि बीच बीचमा बेन्डिंंग समेत गर्नुपर्नेछ ।
८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास वोर्ड हटाइयो
कोहलपुर नगर प्रहरीले कोहलपुर क्षेत्रका ८७२ वटा अनाधिकृत होडिङ वोर्ड र फल्यास बोर्ड हटाएको छ । नगर क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्ग र रत्न राजमार्गको छेउँछाउँमा राखिएका त्यस्ता अनाधिकृत र मापदण्ड विपरीतका होडिङ वोर्ड तथा फल्यास बोर्डहरु हटाइएको हो ।
विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृत बिना राखिएका विभिन्न संघसंस्थाका २२० वटा होडिङ वोर्ड र ६५२ वटा फल्यास वोर्डहरु हटाइएको कोहलपुर नगर प्रहरी प्रमुख थापाले जानकारी दिए । केहीलाई जरिवाना समेत गरिएको नगर प्रहरी प्रमुख थापाले बताए । ‘कोहलपुर नगर क्षेत्रभित्रका अनाधिकृत तथा मापदण्ड विपरीतका सबै होडिङ वोर्ड तथा फल्यास वोर्डहरु हटाइएको छ, थापाले भने–‘अनाधिकृतरुपमा होडिङ वोर्ड राख्नेलाई कारवाहीको दायरामा समेत ल्याएको छौं ।’ उनका अनुसार अहिलेसम्म २० हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।
नगर प्रहरीको नियन्त्रणमा रहेका ती होडिङ वोर्डहरु जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको पनि थापाले बताए । अहिलेसम्म ४१ वटा होर्डिङ बोर्ड सम्बन्धित धनीले जरिवाना तिरेर लगिसकेका छन् । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फल्यास वोर्डहरु जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरेको छ । यदि ७ दिनभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानुन अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
सडकपेटी खाली गराउन थालियो
कोहलपुर नगरपालिकाभित्रका सडकपेटी खाली गराउन थालिएको छ । ट्रस्ट तानेर सडकपेटी कब्जा गर्ने पसल तथा ठेलाहरु राख्ने गरेको पाइएपछि नगर प्रहरीले त्यसलाई हटाउन सुरु गरेको हो । मानिसहरुलाई हिँड्डुलमै समस्या पर्ने गरी सडकपेटीहरु कब्जा गरिएपछि नगर पालिकाले सात दिने सूचना जारी गरेर खाली गराउन अनुरोध गरेको थियो ।
सोही अनुसार बसपार्क क्षेत्रबाट यो अभियान सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए । कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउने अभियान अन्तर्गत नगर प्रहरीले कब्जा गरिएका सडक पेटी पनि खाली गराउन थालेको हो । नगरपालिकाबाट खटिएका अमिनहरुले नगरक्षेत्र भित्रको सडक पेटीलाई मार्किङ गरिसकेका छन् । कतिपय व्यवसायीहरुले स्वतःस्फूर्तरुपमा पनि सडक पेटी खाली गरिसकेका छन् । यसअघि नगर क्षेत्र भित्रको फुटपाथ कब्जा गरी बसेका ठेलाहरुलाई नगर प्रहरीले हटाइसकेको छ ।
फुटपाथ खाली गराउने अभियानलाई अटेर गर्ने ५४ ठेला व्यवसायीलाई कारवाहीको दायरामा समेत ल्याउने काम भएको नगर प्रहरी प्रमुख थापाले बताए । उनले त्यसबाट १६ हजार राजश्व संकलन भएको पनि बताए । यस्तै नगर प्रहरीले रत्न राजमार्ग अन्तर्गत कोहलपुर चौराहादेखि सुर्खेतरोड सडक खण्डको वडा नं २ सम्मको सार्वजनिक जग्गामा अतिक्रमण गरेर बसेका टहर तथा पसलहरु पनि खाली गराएको छ ।
सडकको मापदण्ड अनुसार राजमार्गको क्षेत्राधिकार भित्र थापेका करिव ६० वटा घुम्ती पसल, टहरा तथा ठेला व्यवसायीहरुलाई हटाइएको हो । अब तत्काल चौराहादेखि नेपालगञ्ज सडकखण्ड अन्तर्गत पार्वतीपुरसम्मको सडक अतिक्रमण समेत हटाउने तयारी सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।