(ABC-Sanchar)
दाङ । राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख तारा प्रसाद बिकको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का कास अमृत रोका र निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएरात्रि राजपुर ५ जंग्रहवा चोकमा गाडी अनियंत्रित भएर दुर्घटना हुँदा बिक गम्भीर घाइते भएका थिए ।
कालाकाटे-सिक्टा जोड्ने हुलाकी सडकमा अहिले बाटो पिच र नाली निर्माण हुँदै छ । नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका बिक लडेर सिमेन्टबाट निर्माण भएको बल्क इट्टामा ठोक्किएको प्रहरीले बताएको छ । बिकको बल्क ईट्टामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बिकलाई कोहलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रम आज बिहान ४ बजे मृत्यु भएको हो ।शान्ति नगर गाउँपालिका वडा नम्बर ७ खैरेनी घर भएका अन्दाजी ३३ वर्षीय निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत रहेका थिए । स्वास्थ्य चौकीमा कुनै प्रमुख नभएपछि अहिले उनलाई निमित्त प्रमुखको जिम्मेवार दिइएको थियो ।