०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा तरकारीको भाउ महँगियो

Logo
प्रकाशित मंगलबार, भाद्र ०५, २०८०


(ABC-Sanchar)
काठमाडौं । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो ।

पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।

यस्तै साउन १६ गते ४५ रुपियाँमा थोकमा कारोबार भएको तनेबोडी भदौको ४ गते मूल्य बढेर ११० रुपियाँ थोकमै पुगेको छ । खुद्रामा यसको मूल्य प्रतिकेजीको २२० रुपियाँसम्म किनबेच भएको छ । यस्तै सो अवधिमा सेतो मुला ३७ मा कारोबार भएकामा अहिले बढेर ७६ रुपियाँ रहेको छ । स्थानीय काउली प्रतिकेजी ६८ रुपियाँबाट ८८ रुपियाँ, मकैबोडी ६६ रुपियाँबाट ८५ रुपियाँमा थोकमा किनबेच भइरहेको छ । यस्तै भदौ ४ गते भटमास प्रतिकेजी १०४ रुपियाँ, तितेकरेला प्रतिकेजी ५० रुपियाँ, लौका प्रतिकेजी ८० रुपियाँ, परबर प्रतिकेजी ७० रुपियाँ, घिरौँला प्रतिकेजी ५० रुपियाँ र भिन्डी प्रतिकेजी ५० रुपियाँमा किनबेच भएको छ । यसको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ ।

चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।

कलङ्कीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएकी बबिता अधिकारी पछिल्ला दिनमा तरकारी र फलफूलको मूल्य महँगिएको सुनेर अलमल हुनुभयो । तरकारी र फलफूल किन्न आएकी अधिकारीले भन्नुभयो, “के तरकारी किन्ने भन्ने नै अन्योल भयो, के किन्ने महँगो उत्तिकै छ । त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ, के किन्ने खै !”

वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आएकी उहाँले पैसा महँगो तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गर्नुभयो । एक महिनाअघि १५० रुपियाँमा एक झोला तरकारी किनेको तर अहिले त त्यो पैसाले त एक केजी पनि मुस्किल भएको उहाँको अनुभव छ ।

व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो तर विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी लगाउँछन् ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तरकारीको भाउ पसलैपिच्छे फरक हुँदा पनि यसको सरकार निकायबाट अनुगमन हुन नसक्नु विडम्बना हो भन्नुभयो ।

बजार अनुगमन गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तीन/चार वटा समूहले नियमित रूपमा मूल्य अनुगमन गरेर कारबाहीसमेत गर्दै आएको जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।

समितिका अनुसार आइतबार बजारमा झन्डै छ सय मेट्रिक टनको हाराहारीमा मात्रै कालीमाटी बजारमा तरकारी भित्रिएको थियो भने सोमबार १०/११ बजेसम्म तीन/चार सयको हाराहारीमा तरकारी भित्रिएको छ ।

समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको माग उच्च भएका बेला आयात केही घटेकाले भाउ महँगिएको बताउनुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ ।

समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न ठाउँबाट तरकारी आउँछन् । यो समयमा काठमाडौँमा खपत हुने तरकारीको आधा हिस्सा छिमेकी जिल्लाबाटै आउने भएकाले तरकारीको अभाव नहुने श्रेष्ठको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!