
ABC (क्राईमबिट)
बाँके । दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना.७ ख. २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका ८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक गोविन्द भनिने जुगबहादुर चन्द शाही, कस्तुरी थापा, काशीराम थारू, रूपा परियार, जयन्त थारू र चानुराम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले बताए । उनका अनुसार अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । बर्दिया ठाकुरद्वारा–९ वेतनी सामुदायिक वन उपभोक्ता समितिबाट उक्त गाडी दाङको थारु संग्रहालयमा भ्रमणमा गएको थियो ।
‘पूर्वबाट पश्चिम जाँदै गरेको ना. ८ ख. ६४०५ नम्बरको ट्रक बिग्रिएर सडकमा रोकिएको रहेछ,’ ट्राफिक प्रमुख सुबेदीले भने, ‘भ्रमणबाट फर्किँदै गरेको गाडी सोही ट्रकमा ठोकिँदा दुर्घटना भयो ।’ दुर्घटनामा परेको गाडीको तिव्र गति भएको बताइएको छ ।
दुर्घटनामा परि घाइते भएका ४ जनाको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । २ जना उपचारपछि डिस्चार्ज भएका छन् । ९ जनाको अवस्था सामान्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ ।