०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

खडेरीका कारण सर्लाहीमा किसानहरु पानीकै लागि खेतमा बास बस्न बाध्य ?

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०


(ABC-Sanchar)
सर्लाही । तराई-मधेशका किसानहरूले अहिले भोगिरहेको नियति हो यो । लामो खडेरीका कारण किसानले लगाएका धानबाली सुक्न थालेपछि खेतमा पानी लगाउनकै लागि उनीहरू रातभर पालो कुरेर बस्नुपर्ने बाध्यतामा छन् । आफूलाई चाहिने खटिया, पाल र झुलको सहारामा सुनसान खेतमा उनीहरू अहिले पालो लगाएरै रात काटिरहेका छन् । जिल्लामा सञ्चालित उद्योगका कारण दिनमा भोल्टेज कम हुँदा पानी तान्न समस्या भएपछि उनीहरू रातमा पानी तानेर खेतमा लगाउन बाध्य भएका हुन् । राति खेतमा बस्दा एकजना बस्न नसक्ने, दुई जना बस्न ठाउँ नपुग्ने त्यसमा पनि सर्प र लामखुट्टेको डर रहने उनीहरू बताउँछन् ।

ईश्वरपुर-७, का रूपेश चैधरीले खेतमा रात बिताउन लागेको एक महिना बित्यो । उहाँ नित्य रातको समयमा खेतमा पानी लगाउँदै आउनुभएको छ । चौधरीले करिब तीन बिघा जमिनमा धान खेती गर्नुभएको छ । तर, पनि उहाँले लगाएको बाली सोचे अनुसारको भएको छैन । उहाँ भन्नुहुन्छ, ‘गडा (गह्रा) का धार (छेउ) मा पाल हालेर रातभर बस्न लागेको एक महिना भयो । तर पनि बाली सोचे अनुसारको भएको छैन । आकाशबाट पानी पर्दैन, लगाएको पानीले सबै जमिन भिज्दैन । राति पानी हाल्यो, बिहान सुकिहाल्छ । जसरी भए पनि बाली जोगाउनुपर्ने बाध्यता छ, बाली जोगिए पो हामी बाँच्ने हो, हैन र । बाली नै नभए कसरी बाँच्नु ।’ अहिले चौधरीको अधिकांश समय खेतमै बितिरहेको छ ।

यसरी खेतमा पानी लगाउने चौधरी मात्र हुनुहुन्न । यहाँका सबै किसानको बाध्यता नै यही छ । सबै घरबाट एक÷दुई जना खेतमा खटिया हालेर बस्नैपर्ने हुन्छ । आकाशे पानीको भरमा खेती हुने गरेको क्षेत्रका अधिकांश किसानको नियति यस्तै छ । सर्लाहीका किसान यस वर्षको धान यसरी नै पकाउनुपर्ने भन्ने चिन्तामा छन् । जिल्लामा यो वर्ष पानी कम पर्दा अधिकांश स्थानमा सुक्खापन देखिन्छ । विशेष गरी आकाशे वर्षाको भरमा रहेका जिल्लाको उत्तरी भेगका बाली उजाडिएका छन् । दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी केही हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट अझै बाँझो छन् । धानका बोट सुकेका छन् । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् ।

धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको बताउने किसान गोमा बर्तौला अब के खाने ? कसरी बालबच्चा पाल्ने ? समस्या रहेको बताउनुहुन्छ । बिगतको वर्षहरूमा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेका किसान अहिले तनावमा परेका हुन् । रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो हुने देखिरहेको उहाँले बताउनुभयो । आकाशे वर्षाको भरमा खेती हुने सलार्हीको ईश्वरपुर, हरिपुवा, हरिपुर, लालवन्दी नगरपालिकाको सबै क्षेत्र तथा हरिवन नगरपालिकाको उत्तरी भेग तथा पर्सा, ब्रमहपुरी, चन्द्रनगर गाउँपालिकाको सबै क्षेत्रमा किसानले लगाएको बाली आकाशे वर्षाको भरमा हुने गरेको छ । यस क्षेत्रको प्रमुख
सिँचाइको स्रोत आकासे पानी हो ।

आकासे पानी नभएको बेला यस क्षेत्रका किसानले भूमिगत पानीको प्रयोग गरिरहेका छन् । यसरी भूमिगत पानीका लगाउँदा किसानको लागत बढ्नुको साथै हैरानीसमेत बढी हुने गरेको छ । विद्युतीय मोटर सिचाइ भएको ठाउँमा केही हदसम्म सहज र सस्तोमा किसानले पानी लगाउन सकिरहेका छन् भने विद्युतीय लाइन विस्तार नभएको ठाँउमा भने डिजेलको साहारामा पम्पसेटको माध्यमबाट पानी लगाउँदा किसानको लागत धेरै नै बढी हुने गरेको उनीहरू सुनाउँछन् । विद्युतीय लाइन गएको ठाउँमा समेत भोल्टेजको समस्याले गर्दा किसानले सहज रूपमा पानी लगाउन पाइरहेका छैनन् ।

उता, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्र प्रमुख सञ्जीवकुमार साह पुरानो वितरण प्रणाली, ग्राहकको संख्यामा वृद्धि, एकैपटकमा धेरै उपकरणको प्रयोगले गर्दा किसानलगायत सबैले हैरानी व्यहोर्नुपरेको बताउनुहुन्छ । यसको समाधान भनेको वितरण प्रणालीमा सुधार र ट्रान्सफर्मको संख्या थप्नु रहेको उहाँले बताउनुभयो । यसका लागि केन्द्रले काम गरिरहेको उहाँको भनाइ थियो ।
यता, हरिपुर कृषि शाखाले भने पछिल्लो केही वर्षदेखि जिल्लामा कम पानी परिरेकाले किसानले छोटो समयमा पाक्ने खालको बाली लगाउन सुझाव दिन्छ । सर्लाहीका किसानले सोना मुसलिम, बासमती, राम बिलास, साबित्री, राम, कमोध, शुखा-१ शुखा-२ र शुखा-३ जातको बिउ प्राय लगाउने गरेका छन् । सर्लाहीमा करिब ४६ हजार ५०० हजार हेक्टर क्षेत्रमा धान बाली हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!