ABC (क्राईमबिट)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको निर्देशनमा लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चिसापानी कोहलपुर नेपालगन्ज फुल्टेक्रा हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुर लगायत विभिन्न स्थानहरुमा सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल यात्रु, सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना मुलुक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना न्यूनीकरणका उपायहरू लगायतका विषयमा सचेतना कार्यक्रम गरिएको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा दैनिकजसो सचेतनाका कार्यक्रमहरू गर्दै आएको उहाँको भनाइछ । सचेतना कार्यक्रमले सर्वसाधारण नागरिकहरू लगायत सरोकारवाहरुमा ट्राफिक सम्बन्धी शिक्षाको ज्ञान भएको र यसले गर्दा दुर्घटनामा कमी आउनुका साथै अत्यन्तै सकारात्मक प्रभाव परेको आफूले पाएको ट्राफिक प्रमुख सुवेदीले बताउनुभयो ।
‘‘ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने होइन, सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गर्ने पनि हो,’’ ट्राफिक प्रहरी प्रमुख सुवेदीले भन्नुभयो, ‘‘नागरिक सचेत भएपछि अटोमेटिक रूपमा सडक दुर्घटनामा कमी आउनुका साथै सवारी साधन लगायत सबै जनाले ट्राफिक नियमको पालना गर्नुहुन्छ ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको मातहतका चिसापानी समशेरगन्ज, कुसुम, फुलटेक्रा, सम्झना, भगवानपुरलगायतका पोष्टबाट जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक सचेतना प्रदान गरिएको बाँके ट्राफिकले जनाएको छ । दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बाँके ट्राफिकले पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा सरोकारवालाहरू बिच विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।