काठमाडौं । नेपाल प्रहरीका ५ जना एआईजी चैत ५ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश भएका हुन् भने अर्का एआईजी दीपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि एआईजीका ६ स्थान खाली भएका हुन्।
अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख रानीपोखरीका एआईजी टेकबहादुर तामाङ मात्रै कार्यरत छन्।
चैत ५ गते एकसाथ प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुवेर कडायत र प्रदेश समन्वय विभागका जनकराज भट्टराई अवकाश भएका हुन्।
रिक्त एआईजीका लागि तीन ब्याचका प्रहरी अधिकारी प्रतिस्पर्धामा छन्। अहिले एकैपटक एआईजीमा बढुवा भए पनि उनीहरूमध्ये तीन जना आईजीपी बन्न सक्नेछन्।
२०५२ कात्तिक २७ गते भर्ना भएका तीन जना, २०५३ पुस ५ गते भर्ना भएका ५ जना र २०५४ चैत १८ गते भर्ना भएको टोलीका ३ जना डीआईजी अहिले एआईजीको प्रतिस्पर्धामा छन्।
यी तीनै ब्याचबाट ६ जना डीआईजी एआईजीमा बढुवा हुने सम्भावना छ। अहिलेकै व्यवस्थामा उनीहरूमध्ये आआफ्ना ब्याचबाट एक/एक जना आईजीपी बन्ने सम्भावनासमेत देखिएको छ। तर नयाँ प्रहरी ऐन आएमा भने यसमा ब्यापक हेरफेर हुन सक्नेछ। कतिपय ब्याचबाट आईजीपी बन्ने छैनन्।
यसरी बन्छन् तीन जना आईजीपी
२०५२ कात्तिक २७ गते भर्ना भएका तीन जना अब एआईजी बन्ने लाइनमा छन्। अब एआईजीमा बढुवा हुने सबैभन्दा बलियो सम्भावना उनीहरूकै छ।
हालका प्रहरी महानिरीक्षक दीपक थापा आगामी भदौ १९ गते अनिवार्य अवकाशमा जानेछन्। थापा पनि ३३० वर्षे सेवा अवधिकै कारण अवकाश हुने अवस्था छ। उनीसँगै उनका ब्याचका दुई एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि अवकाश हुनेछन्।
भदौ १९ गतेदेखि रिक्त हुने आईजीपीमा चन्द्र कुवेर खापुङको सम्भावना सबैभन्दा बलियो छ। उनी अहिले डीआईजीको पहिलो वरीयतामा छन्। खापुङ हाल सीआईबीमा कार्यरत छन्।
उनीसँगै भर्ना भएका मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य पनि अहिले एआईजीमा बढुवा हुने सम्भावना छ। उनी एआईजीमा बढुवा भए पनि आईजीपी बन्ने सम्भावना भने छैन। उनी एआईजीको उमेर हदका कारण आगामी जेठ ११ गते अवकाश हुनेछन्। उनीहरूकै ब्याचका कृष्णहरि शर्मा पोखरेल पनि अब एआईजीमा बढुवा हुने सम्भावना छ। पोखरेल हाल बागमती प्रदेश प्रहरी प्रमुख छन्।
पोखरेल पनि खापुङसँगै २०८२ कात्तिक २७ गतेसम्म सेवामा रहनेछन्। भदौमा खापुङ आईजीपी नभए यो ब्याचबाट पोखरेल हुने सम्भावना छ।
यसपछि २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोलीका ५ जना डीआईजी छन्। उनीहरूमध्ये पनि एकदेखि दुईजना अहिले एआईजीमा बढुवा हुने सम्भावना छ। सबैभन्दा बलियो दाबेदार हुन्- सिद्धिविक्रम शाह। हाल प्रहरीको विशेष ब्युरोमा कार्यरत उनी आफ्नो ब्याचबाट पहिलो नम्बरमा छन्।
यसअघिसम्म २०५४ सालको टोलीभन्दा अगाडि रहँदै आएका शाह डीआईजीमा भने पछि परे। शाहको ब्याच २०६४ मा डीएसपीमा बढुवा भएको थियो। एसपी भने २०५४ को टोलीसँगै एसपीमा २०७४ मा र एसएसपीमा २०७९ मा भएका थिए।
तर अहिले उनी एआईजीमा त्यो ब्याचलाई फेरि उछिन्ने गरी लबिइङमा छन्। आफूलाई रवि लामिछाने गृहमन्त्री हुँदा अन्याय गरिएको दाबीसहित अहिले त्यो ब्याचभन्दा अगाडि बढुवा हुनुपर्ने जिकिर उनको छ।
यसरी एआईजीमा अगाडि बढे शाह आगामी कात्तिक २७ गतेपछि प्रहरी नेतृत्वमा पुग्ने सम्भावना छ। तर उनको दाबी भदौमा रिक्त हुने आईजीपीका लागि पनि हुनेछ। त्यतिबेला शाह आईजीपी भएमा खापुङको टोली एआईजीमै अवकाश हुनेछ। नभए खापुङ दुई महिनाका लागि आईजीपी बन्ने सम्भावना छ। खापुङ आईजीपी बने शाह पनि कात्तिकबाट आईजीपी बन्ने सम्भावना छ। त्यो अवस्थामा उनी २०८३ पुस ५ गतेसम्म आईजीपी बन्नेछन्।
यो ब्याचबाट अहिले एआईजीका लागि शाहसँगै सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक एआईजीमा बढुवा हुने कसरतमा छन्। तर एकदेखि दुईजना मात्रै यो टोलीबाट बढुवा हुने सम्भावना छ। २०५४ को टोलीबाट पनि यसपटक दुईदेखि तीन जनासम्म एआईजीमा बढुवा हुने सम्भावना छ। यो टोलीबाट दानबहादुर कार्की सधैँ पहिलो नम्बरमा छन्। कार्की यो टोालीबाट आईजीपी बन्ने सम्भावना बलियो छ। खापुङ र शाह आईजीपी बने पनि कार्की आफ्नो ब्याचबाट आईजीपी बन्ने सम्भावना बलियो छ।
तर कार्की आगामी भदौबाटै आईजीपी बन्ने लबिइङमा छन्। उनी आईजीपी बने भने खापुङ र शाही हुने छैनन्। कार्की हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुख छन्। अब केही दिनमा हुने एआईजी बढुवामा उनी पनि पर्ने सम्भावना बलियो छ। कार्कीसँगै बढुवा भएका मनोज केसी र राजन अधिकारी पनि लबिइङमा छन्। तर यसपटक केसीभन्दा अधिकारीको सम्भावना बलियो छ।
उनीहरू दुवै जना एआईजी बन्ने सम्भावना पनि छ। तर अहिलेको सत्ताले केसीलाई खासै रुचाएको छैन। केसीलाई डीआईजी पनि रवि लामिछाने गृहमन्त्री हुँदा उनकै जोडमा बनाइएको हो। केसी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छन्। उनलाई विशेष ब्युराबाट छोटो समयमै हटाएर त्यहाँ पुर्याइएको थियो।
उनीसँगै बढुवा भएका दानबहादुर कार्की र राजन अधिकारीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिए पनि उनलाई भने दिइएको थिएन। भुटानी शरणार्थी प्रकरणमा आफ्नै संगठन प्रमुख र हालका सत्ता साझेदार दलका शीर्षनेताविरुद्ध लागेको आरोप उनलाई छ। यसकै असर अब एआईजी बढुवामा पनि देखिने सम्भावना छ।
तर उनी पनि एआईजीमा बढुवा हुन लबिइङमा छन्। पछिल्लो समय केसीले कांग्रेस नेताहरूसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको स्रोतको दाबी छ। केही दिनमा ६ जना एआईजी बढुवाका लागि सिफारिस हुँदा तीन ब्याचका ११ जना डीआईजीमध्येबाट हुने करिब निश्चित छ। अरू डीआईजी भने उनीहरुभन्दा पनि जुनियर छन्।