काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो।
हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, शान्त मुस्कान रोज्नुभयो। बदला होइन, धैर्य र मर्यादा रोज्नुभयो। सत्ता र पदको मोहभन्दा माथि उठेर, उहाँ आज पनि यही धुलो, यही जनता र यही पीडासँग रमाइरहनु भएको छ। दरबारको वैभवभन्दा उहाँलाई आफ्नै माटोको गन्ध प्रिय देखिन्छ—जहाँ दुख, आशा र विश्वास एकअर्कामा मिसिएका छन्।
पद र कुर्सी समयसँगै आउँछन्–जान्छन्, तर देशप्रतिको निस्वार्थ माया समयले कहिल्यै मेटाउन सक्दैन। कठिन घडीमा पनि मातृभूमिलाई नत्याग्ने साहस, जनतामाझैँ उभिने धैर्य, र मौनतामै मर्यादा जोगाइराख्ने दृढता—यिनै गुणहरूले ‘राजा’ हुनुको साँचो गरिमा परिभाषित गर्छन्। हामीले त्यो सत्य चिन्न ढिला गर्यौँ होला, सरकार। तर आज वल्ल सबैले बुझ्दै छन्—दल, नेता र राजनीतिभन्दा ठूलो कुरा माटोप्रतिको माया हो। र यही मायासँगै, देशमा राजसंस्थाको अभाव धेरैले गहिरोसँग महसुस गर्न थालेका छन्।
रमेश राज बास्तोला