काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य कति बीभत्स देखिन्छ होला ?
अहिले चर्चामा रहेको हिन्दी फिल्म ‘धुरन्धर’मा यस्ता थुप्रै दृश्य छन् । जहाँ मानिस कहिले गोलीको छर्राजसरी टुक्रिन्छन् त कहिले प्रेसर कुकर पड्केजसरी पड्किन्छन् । इँट्टाले किरा मारेझैं मान्छे मारेको दृश्य त कति-कति ! तर, निर्देशक आदित्य धरले ती दृश्यलाई निकै बीभत्स ढंगले देखाएका छन् । कति दृश्य त हेर्नै नसकिने पनि छन् ।
फिल्मको सबैभन्दा बिझाउने पाटो नै यही हो । हुन त बलिउडले यस किसिमको फिल्म नबनाएका होइनन् । तर, रणवीर कपुरको ‘एनिमल’पछि एक्सन विधामा यसरी हिंसात्मक दृश्य कसले बढी देखाउने भन्ने होडबाजी चलेको देखिन्छ । त्यसैको निरन्तरता हो रनवीर सिंह अभिनित ‘धुरन्धर’ पनि । जहाँ यस किसिमको हिंसात्मक दृश्यलाई अतिरञ्जनासहित देखाइएको छ ।
फिल्ममा यस्तो दृश्य देखाउन मिल्दैन भन्ने होइन । तर त्यसैलाई पनि सिर्जनशील र कलाका माध्यमबाट देखाउने शक्ति फिल्ममा हुन्छ । तर, निर्देशक अदित्यले कलाको त्यो सौन्दर्यलाई छोएका छैन । हिंसाका दृश्यलाई अतिरञ्जना गर्दा पनि यो फिल्म साँढे तीन घण्टामा लम्बिएको छ । निर्देशकले यस्ता एक्सन दृश्यको अतिरञ्जनामा भन्दा फिल्मको कथा, पात्रहरुको स्थापना र कथाको अवतरणमा ध्यान पुर्याइदिएको भए फिल्मले दर्शकको ध्यान बाँध्ने थियो ।