१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

माघ १ गते माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति पर्व, देशभर मनाइँदैछ,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, माघ ०१, २०८२

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।

वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।

माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । डुडुवा गाउँपालिका वडा नं. १ पिपरहवामा रहेको प्रहरी चौकी खडैचामा समुदाय-प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिई आउनुभएका प्रहरी निरीक्षक श्याम वि.क.को आयोजनामा भएको उक्त कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चोरी निकासी […]

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक श्री अवि नारायण काफ्लेले देशभरका प्रहरी कार्यालयहरूमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहनुभएका प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेद्वारा देशभरका प्रहरी प्रवक्ताहरुलाई Virtual Conference मार्फत निर्देशन, मार्फत आवश्यक निर्देशन दिनुभएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा उपत्यकास्थित कार्यालयका प्रवक्ता / सूचना अधिकारीहरूको भौतिक […]

  बाँके । नेपालगञ्ज अवैध रूपमा भारतबाट ल्याइएको बोइलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ। जिल्ला बाँके, नेपालगञ्ज उप-महानगरपालिका-१० गणेशमान चोकबाट अवैध रूपमा ल्याइएका अन्दाजी ९० किलोग्राम तयारी बोइलर कुखुराको मासु नियन्त्रणमा लिइएको हो। बरामद गरिएको मासु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।