पोर्चुगलको चिसो रातमा, जब विदेशी आकाशमा तारा टिलपिलाउँछन्, एउटा नेपाली युवाको मुटु भने घोराहीको माटोसँगै धड्किरहेको हुन्छ । आँखा बन्द गर्दा पनि त्यो पुरानो मिलनचोक, घोराहीको धुलो उड्ने सडक, राति दुई बजे पानीको लागि गाग्री बोकेर हिँड्ने आमाहरूको थकित अनुहार, र टाढा–टाढाबाट आएको सविन प्रियासन दाजुको आवाजले उनलाई सताउँछ ।
“म यतिबेला वैदेशिक रोजगारीको शिलशिलामा पोर्चुगलमा छु । आएको एक वर्ष हुन लाग्यो । घोराहीमै जेनतेन काम गरेर आफू र आफ्नो घरपरिवारको खर्च जुटाई रहेको थिएँ । तर बाध्यताले विदेश आउनु पर्यो ।” यी शब्दहरू लेख्दा मेरो स्वर थरथर काँपेको महसुस गरिरहेको छु । आँखामा आँसुको डोब देखिएको छ । किनकि यो कुनै सामान्य बाध्यता होइन – यो आफ्नो सपना, आफ्नो घर र आफ्नो शहर छोडेर परदेशिनुको पीडा हो ।
घोराही हुँदा म सविन प्रियासन दाजुसँग धेरै पटक भेट्थे । दाजुको आँखामा त्यो ज्वाला देख्थे – साहित्यको ज्वाला, पत्रकारिताको ज्वाला, समाजसेवाको ज्वाला । दाजुले गरेका हरेक गतिविधि देख्दा मलाई लाग्थ्यो, “म पनि यस्तै बन्नुपर्छ । म पनि घोराहीलाई केही दिन सक्छु ।” तर जीवनको कठोर तराजुले मलाई परदेशको बाटो देखायो । आज पोर्चुगलको कामदार जीवनमा पनि म हरेक रात घोराही बनाऔं अभियानको बारेमा सोच्छु, र भन्छु, “दाई, मलाई पनि घोराही बनाउने हजुरको अभियानमा जोडिने मन छ ।”
सविन प्रियासन – यो नाम सुन्ने बित्तिकै घोराहीका धेरैको मुटुमा एउटा आशाको किरण बल्छ । २०३६ साल वैशाख १ गते मिलनचोकमा जन्मिएका उनी बुबा जीतबहादुर चौधरी र आमा कृष्णकुमारी श्रेष्ठ चौधरीका कान्छा छोरा हुन् । बाल्यकालदेखि नै उनको हृदय समाजको पीडासँग जोडिएको थियो । मिलनचोक युवा क्लबबाट सुरु भएको उनको यात्रा कहिल्यै रोकिएन । २०५२ देखि २०६० सम्म युवा परिचालन समितिको संयोजक भएर उनी रातदिन लागे । घोराहीमा पहिलो पटक २०५५ सालमै मिलनचोक युवा क्लबको तर्फबाट ‘घोराही उज्यालो अभियान’ चलाएर सडकका पोलहरूमा ट्युबलाइट जडान गरे । सडक सरसफाइ, पानीको व्यवस्था, विपन्न बालबालिकालाई शैक्षिक सामग्री – यी सबै उनको हातबाट भए ।
उनको कलमले सधैं सत्य बोल्यो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, दाङ शाखाको पूर्वअध्यक्ष, गणतन्त्र राष्ट्रिय दैनिकका सम्पादक –उनको पत्रकारिताले स्थानीय पीडालाई राष्ट्रिय स्तरमा पु¥यायो । साहित्यमा उनी नेपाली साहित्यको इतिहासमा दोस्रो धेरै उपन्यास लेख्ने लेखक बने । ‘कालो मन’, ‘कडी’, ‘नयाँ लुगा’ जस्ता १३ वटा उपन्यासले नेपाली समाजको कठोर यथार्थ, प्रेमको पीडा, वर्गीय संघर्ष र ग्रामीण जीवनको आँसु चित्रण गरे । समाजसेवामा उनी कहिल्यै थाकेनन् । सडकमा भोकै हिँड्ने बटुवालाई खाना खुवाउने, विद्यालयमा किताब बाँड्ने, विपन्नको घर बनाउने – यी काम उनको दैनिकी बने ।
तर उनको सबैभन्दा ठूलो सपना थियो – घोराही बनाउने । २०८० मङ्सिरमा उनले ‘घोराही बनाऔं अभियान’ सुरु गरे । यो कुनै राजनीतिक अभियान थिएन । यो नागरिकको हृदयबाट निस्केको स्वस्फूर्त आन्दोलन थियो । “समस्या आएपछि मात्र होइन, स्थानीयबासीको आवाज सुन्ने र समाधानका लागि सहजीकरण गर्ने नै अभियानको मूल मर्म हो,” दाजु भन्छन् ।
गाउँगाउँ पुग्ने, समस्या सुन्ने, स्थलगत अनुगमन गर्ने, निकायलाई दबाब दिने – यो अभियानले घोराहीलाई समावेशी, हरित, स्मार्ट र समृद्ध बनाउने सपना देखाएको छ ।
यो अभियानको सबैभन्दा भावनात्मक अध्याय हो – घोराही–१२ तल्लो बसन्तपुरको पानीको कथा । एक वर्षअघि त्यहाँ ६० घरधुरीका महिलाहरू रातको दुई बजे उठेर टाढा–टाढाबाट पानी बोकेर आउँथे । बच्चाहरूको पढाइ बिग्रिएको थियो, स्वास्थ्य समस्याले घरघरमा पीडा थियो, महिलाहरूको अनुहारमा थकान र हताशा देखिन्थ्यो । उनीहरूको आँखामा आँसु देखेर सविन प्रियासन दाजुको मुटु रुन्थ्यो । अभियानको टोली पुग्यो । स्थलगत अनुगमन भयो । पुरानो हापुर खानेपानी स्किमको कमजोरी देखियो । नयाँ उपभोक्ता समिति गठन भयो । प्रतिपरिवार १५ हजार रुपैयाँ संकलन, ८४ वर्षीय मनबहादुर रोकाले १ लाख रुपैयाँ दान, ६ सय मिटरभन्दा बढी पाइपलाइन, ट्यांकी निर्माण – सबै स्थानीय एकताको जादू ।
आज तल्लो बसन्तपुरका महिलाहरूको अनुहारमा मुस्कान छ । रमिला वली आँखामा आँसु पार्दै भन्छिन्, “अब दुई बजे उठ्नुपर्दैन । पानी घरमै आउँछ । बच्चाहरूले राम्रोसँग पढ्न पाएका छन् । हामीलाई धेरै खुसी मिलेको छ । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनलाई धन्यवादको शब्द समेत कम हुन्छ ।” समिति अध्यक्ष रेशम योगी भावुक हुँदै भन्छन्, “हामी पानीको अभावमा ग्रस्त थियौं । प्रियासन दाजु आएर हामीलाई बाटो देखाउनुभयो । उहाँ हाम्रा लागि भगवान जस्तै हुनुहुन्छ ।”
यो पानीको मुक्तिले मात्र होइन, घोराहीका धेरै टोलहरूमा आशा जगाएको छ । घोराही–१६ सर्राको बाल अस्पताल संरक्षण र सञ्चालनका लागि अभियानले निरन्तर आवाज उठाएको छ । घोराही–४ गोग्लीको नगर अस्पतालको भवन निर्माण छिटो सम्पन्न गर्न दबाब दिइएको छ । घोराही–तुलसीपुर फोरलेन सडकको काम तीव्र बनाउन सडक डिभिजनमा छलफल गरेको छ । घोराही–६ चैनपुरका ६ सय घरपरिवारलाई पानी पु¥याउन ज्ञापनपत्र बुझाएको छ । विद्यालयहरूमा सिपमूलक शिक्षा, उद्यमशीलता, भाषा संस्कृति संरक्षण – अभियानले हरेक क्षेत्रमा हात हालिरहेको छ ।
सविन प्रियासन दाजुको आँखामा एउटै सपना छ – “घोराहीलाई नेपालकै मोडल पालिका बनाउने ।” उनी भन्छन्, “यो अभियान कहिल्यै पूर्ण हुँदैन । यो यात्रा हो। घोराही बनाउँदा अन्य पालिकाहरूको समृद्धिका लागि पनि आवाज उठाउनेछौं । यदि सबै पालिकाले विकासको लहर पकड्न सके भने समृद्ध दाङ बन्न कसैले रोक्न सक्दैन ।” उनी प्रवासी नेपालीहरूलाई पनि सम्बोधन गर्छन्, “घोराहीमा जन्मिएका अनि विभिन्न बाध्यताले हाल बाहिरी जिल्ला वा मुलुक बाहिर रहेका व्यक्तिहरू समेतले सहयोगी भूमिका खेल्नु हुनेछ ।”
ठ्याक्कै दाजुको यस्तै सम्बोधनले पोर्चुगलमा रहँदा मेरो मुटु छोयो । म रातभरि काम गरेर पनि दाजुको अभियानको बारेमा सोच्छु । फुर्सद हुँदा दाईले विभिन्न