काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो ।
अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना भएका टोलीबाट बन्नेछन् ।
२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुँदै संगठनको सर्वोच्च कमान्डर बनेका थिए । तर, उनी सशस्त्र प्रहरी बलको ३० वर्षे सेवा अवधि दुई वर्ष बाँकी रहँदै अवकाशमा जान लागेका हुन् ।
अर्यालको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २८ वर्ष सेवा अवधि पुगेको छ । उनीसँगै नेपाल प्रहरीमा भर्ना भएका ब्याचमेट दानबहादुर कार्की गत कात्तिकमा मात्रै आईजीपी बनेका थिए ।

हाल प्रहरीको ३० वर्षे सेवा अवधि रहेको प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएसम्म कार्की २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्वमा रहनेछन् ।
नेपाली प्रहरीबाट एक पद बढुवा लिँदै सशस्त्रमा स्थानान्तरण भएका अर्याल पहिला नै आइजीपी बनेका हुन् । नेपाल प्रहरीमा आफूभन्दा अघि भर्ना भएका टोलीभन्दा चाँडै नेतृत्व तहमा पुगेका थिए ।
चार वर्षे कमान्ड र मूल्याङ्कन
अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका हुन् । अर्यालको चार वर्षे सशस्त्र प्रहरी बलको कमान्ड सफल रहेको सशस्त्र प्रहरी बलका अधिकारीहरू बताउँछन् । सशस्त्र प्रहरी बलका कर्मचारीको वृत्ति विकासदेखि सीमा क्षेत्रको सुरक्षा तथा आन्तरिक व्यवस्थापनमा अर्याल निर्विवाद रहेको मूल्याङ्कन छ ।
अर्यालको उत्तराधिकारीको कार्यकाल भने दुईवर्ष मात्र रहने छ । अर्यालपछि हुने आईजीपी हालको सशस्त्र प्रहरी बलको कानुनी व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् ।
दौडमा को–को अगाडि ?
अर्यालपछि आईजीपीको दौडमा सबैभन्दा अगाडि सशस्त्र प्रहरी बलका एआईजी नारायणदत्त पौडेल छन् । उनी अर्याल आईजीपी हुँदासमेत उनका प्रतिस्पर्धी थिए । पौडेल २०७९ जेठ ६ मा एआईजी बढुवा भएका थिए ।
उनीपछि वरिष्ठताका आधारमा दोस्रो स्थानमा एआईजी वंशीराज दाहाल छन् । पौडेल एआईजी भएको पाँच महिनापछि दाहाल २०७९ असोज २८ मा एआईजी भएका थिए । दाहाल पनि आईजीपीका प्रतिस्पर्धी हुन् ।
पौडेल सुर्खेतका हुन् भने दाहाल झापाका स्थायी बासिन्दा हुन् ।
उनीहरूभन्दा करिब तीन वर्षपछि एआईजी भएका अर्का एआईजी गणेश थापा मगरको आईजीपीको दौड भने औपचारिक मात्र हो । मगर पौडेलको ब्याचभन्दा जुनियर ब्याचका समेत हुन् ।
वरिष्ठताका आधारमा पौडेल भावी आईजीपीका प्रमुख दाबेदार हुन् । अर्धसैनिक फौज सशस्त्रमा हालसम्म आईजीपी हुँदा वरिष्ठतालाई प्राथमिकता दिँदै आएको छ ।
हालसम्म वरिष्ठताका आधारमा पहिलो नम्बरले संगठनको कमान्ड सम्हाल्दै आएका छन् । आईजीपीका प्रतिस्पर्धी पौडेल सशस्त्र प्रहरी बलको मानवस्रोत विकास विभाग, दाहाल सीमा सुरक्षा विभाग र थापा मगर कार्य विभागका प्रमुख छन् ।
सरकारको ‘अग्नि परीक्षा’
आईजीपी नियुक्तिको अधिकार सरकारलाई हुन्छ । यद्यपि सशस्त्र प्रहरी नियमावली–२०७२ को नियम ५३ अनुसार, सरकारले एआईजीमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा आईजीपी नियुक्ति गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसका अतिरिक्त नियमावलीअनुसार नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफूभन्दा मुनिका सशस्त्र प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई पनि आधार मानिन्छ ।