१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

अवकाशमा जाँदै आईजीपी अर्याल,वरिष्ठताका आधारमा पहिलो नम्बरमा आईजिपीको कमान्ड पौडेलले सम्हाल्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १२, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो ।

अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना भएका टोलीबाट बन्नेछन् ।

२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुँदै संगठनको सर्वोच्च कमान्डर बनेका थिए । तर, उनी सशस्त्र प्रहरी बलको ३० वर्षे सेवा अवधि दुई वर्ष बाँकी रहँदै अवकाशमा जान लागेका हुन् ।

अर्यालको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २८ वर्ष सेवा अवधि पुगेको छ । उनीसँगै नेपाल प्रहरीमा भर्ना भएका ब्याचमेट दानबहादुर कार्की गत कात्तिकमा मात्रै आईजीपी बनेका थिए ।



हाल प्रहरीको ३० वर्षे सेवा अवधि रहेको प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएसम्म कार्की २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्वमा रहनेछन् ।

नेपाली प्रहरीबाट एक पद बढुवा लिँदै सशस्त्रमा स्थानान्तरण भएका अर्याल पहिला नै आइजीपी बनेका हुन् । नेपाल प्रहरीमा आफूभन्दा अघि भर्ना भएका टोलीभन्दा चाँडै नेतृत्व तहमा पुगेका थिए ।

चार वर्षे कमान्ड र मूल्याङ्कन

अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका हुन् । अर्यालको चार वर्षे सशस्त्र प्रहरी बलको कमान्ड सफल रहेको सशस्त्र प्रहरी बलका अधिकारीहरू बताउँछन् । सशस्त्र प्रहरी बलका कर्मचारीको वृत्ति विकासदेखि सीमा क्षेत्रको सुरक्षा तथा आन्तरिक व्यवस्थापनमा अर्याल निर्विवाद रहेको मूल्याङ्कन छ ।

अर्यालको उत्तराधिकारीको कार्यकाल भने दुईवर्ष मात्र रहने छ । अर्यालपछि हुने आईजीपी हालको सशस्त्र प्रहरी बलको कानुनी व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् ।

दौडमा को–को अगाडि ?

अर्यालपछि आईजीपीको दौडमा सबैभन्दा अगाडि सशस्त्र प्रहरी बलका एआईजी नारायणदत्त पौडेल छन् । उनी अर्याल आईजीपी हुँदासमेत उनका प्रतिस्पर्धी थिए । पौडेल २०७९ जेठ ६ मा एआईजी बढुवा भएका थिए ।

उनीपछि वरिष्ठताका आधारमा दोस्रो स्थानमा एआईजी वंशीराज दाहाल छन् । पौडेल एआईजी भएको पाँच महिनापछि दाहाल २०७९ असोज २८ मा एआईजी भएका थिए । दाहाल पनि आईजीपीका प्रतिस्पर्धी हुन् ।

पौडेल सुर्खेतका हुन् भने दाहाल झापाका स्थायी बासिन्दा हुन् ।

उनीहरूभन्दा करिब तीन वर्षपछि एआईजी भएका अर्का एआईजी गणेश थापा मगरको आईजीपीको दौड भने औपचारिक मात्र हो । मगर पौडेलको ब्याचभन्दा जुनियर ब्याचका समेत हुन् ।

वरिष्ठताका आधारमा पौडेल भावी आईजीपीका प्रमुख दाबेदार हुन् । अर्धसैनिक फौज सशस्त्रमा हालसम्म आईजीपी हुँदा वरिष्ठतालाई प्राथमिकता दिँदै आएको छ ।

हालसम्म वरिष्ठताका आधारमा पहिलो नम्बरले संगठनको कमान्ड सम्हाल्दै आएका छन् । आईजीपीका प्रतिस्पर्धी पौडेल सशस्त्र प्रहरी बलको मानवस्रोत विकास विभाग, दाहाल सीमा सुरक्षा विभाग र थापा मगर कार्य विभागका प्रमुख छन् ।

सरकारको ‘अग्नि परीक्षा’

आईजीपी नियुक्तिको अधिकार सरकारलाई हुन्छ । यद्यपि सशस्त्र प्रहरी नियमावली–२०७२ को नियम ५३ अनुसार, सरकारले एआईजीमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा आईजीपी नियुक्ति गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसका अतिरिक्त नियमावलीअनुसार नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफूभन्दा मुनिका सशस्त्र प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई पनि आधार मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]