काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य आउने र भाउ घट्ने पक्कापक्की भएपछि घाटाबाट बच्न व्यवसायीले अघिल्लो दिन (मंगलबार) आयल निगमबाट तेल नै उठाएनन् । यसअघि २०८२ चैतमा भने मूल्य बढ्ने सूचना निगमकै कर्मचारीले चुहाएर पम्पहरूलाई ठूलो परिमाणमा तेल बिक्री गरिएको थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेपछि व्यवसायीले तेल नउठाउँदा बजारमा इन्धनको कृत्रिम अभाव सिर्जना भएको छ ।
मूल्य घट्ने सूचना चुहाएर बजारमा आपूर्ति रोकेको भन्दै उपभोक्ता अधिकारकर्मीले निगम व्यवस्थापन र व्यवसायीको चर्को आलोचना गरेका छन् ।
निगमले आज दिउँसोसम्ममा बजारमा इन्धन आपूर्ति सहज हुने दाबी गर्दै अनुगमन टोली परिचालन गरिएको जनाएको छ ।
१७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको महसुस गर्न नपाउँदै उपभोक्ताले बजारमा इन्धनको कृत्रिम अभाव झेल्नुपरेको छ । निगमले आज बुधबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेर उपभोक्तालाई राहत दिए पनि बजारमा भने त्यसको प्रतिकात्मक असर देखियो ।
बुधबार बिहानैदेखि सस्तोमा तेल हाल्न पम्प पुगेका उपभोक्ता ‘पेट्रोल र डिजेल छैन’ लेखिएको बोर्ड हेर्दै फर्कन बाध्य भए । कतिपय भने सरकारी पम्पमा घामपानी सहेर लामो लाइनमा बस्न बाध्य भए ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँ मूल्य घटाएको थियो । यो समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल तथा मट्टीतेलको १ सय ९५ रुपैयाँ कायम भएको छ ।
तर, निजी पेट्रोल पम्प सञ्चालकहरूले धेरै मूल्य घटाएको भन्दै बिक्री वितरण बन्द गरे । बिहानदेखि काठमाडौं, ललितपुर र भक्तपुरका पेट्रोल पम्प बन्द थिए । यस्तै उपभोक्ताले वीरगञ्ज, पोखरा लगायत अन्य ठाउँमा पनि पम्प बन्द भएको गुनासो गरेका छन् ।
निजी बन्द भएपछि काठमाडौंमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पम्पमा उपभोक्ताको लामो लाइन लाग्यो । तर, मूल्य घटेको दिन पम्पहरू बन्द हुनुको कारण व्यवसायीको नाफामुखी प्रवृत्ति र निगम नेतृत्वको चरम व्यवस्थापकीय अक्षमता भएको भन्दै चर्को विरोध भइरहेको छ । online khabar