घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ।
दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा प्रियासनले विक्रेताहरूसँग समस्या, आपूर्तिको अवस्था र समाधानका उपायबारे छलफल गर्नुभएको हो।
छलफलका क्रममा ग्यास विक्रेता समितिका अध्यक्ष एवं मनकामना ग्यासका विक्रेता सन्तोष श्रेष्ठले आफूहरूले अन्य ग्यासको तुलनामा कोटाअनुसार पनि पर्याप्त सिलिन्डर प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो। उहाँका अनुसार नेपाल आयल निगमले मनकामना ग्यास कम्पनीलाई तोकिएको कोटाअनुसार आवश्यक बुलेट उपलब्ध नगराएको तथा अन्य ग्यास कम्पनीलाई भने कोटाभन्दा बढी बुलेट उपलब्ध गराइरहेको कारण मनकामना ग्यासको आपूर्ति प्रभावित भएको हो।
श्रेष्ठले कम्पनीबाट पर्याप्त मात्रामा ग्यास प्राप्त नहुँदा विक्रेताहरूले चाहेर पनि उपभोक्ताको मागअनुसार सिलिन्डर उपलब्ध गराउन नसकेको बताउनुभयो। आपूर्ति नियमित नहुँदा विक्रेतालाई समेत उपभोक्ताको चाप व्यवस्थापन गर्न कठिन भइरहेको उहाँको भनाइ थियो।
समस्याबारे जानकारी लिएपछि घोराही बनाउँ अभियानका संयोजक प्रियासनले ग्यास अभाव समाधानका लागि सम्बन्धित सबै पक्षसँग आवश्यक छलफल तथा पहल गर्ने बताउनुभयो। उहाँले दाङका उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन आयल निगम, ग्यास उद्योग तथा स्थानीय तहलगायत सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।
दाङमा देखिएको ग्यास अभाव कम गर्न विगतमा वितरण प्रणालीलाई व्यवस्थित बनाउन टोकनमार्फत ग्यास वितरण गर्ने प्रणाली बसाल्न भूमिका खेल्नुभएका प्रियासनले अहिले पनि उपभोक्ताले समस्या भोगिरहेकाले तत्काल आपूर्ति सहज बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले ग्यास विक्रेताहरूलाई उपभोक्तासँग संयमित र राम्रो व्यवहार गर्नसमेत अनुरोध गर्नुभयो। ग्यास अभावको वास्तविक कारण उपभोक्तालाई स्पष्ट रूपमा जानकारी गराउँदै उपलब्ध सिलिन्डरलाई पारदर्शी र व्यवस्थित ढङ्गले वितरण गर्नुपर्ने उहाँको भनाइ थियो।
ग्यास अत्यावश्यक उपभोग्य वस्तु भएकाले यसको आपूर्ति र वितरणमा देखिएको समस्या लामो समयसम्म रहन नहुने भन्दै प्रियासनले सम्बन्धित निकायलाई गम्भीरतापूर्वक पहल गर्न आग्रह गर्नुभयो। उहाँले दाङमा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न आफूले आवश्यक समन्वय र पहललाई निरन्तरता दिने बताउनुभयो।
दाङमा पछिल्लो समय ग्यासको मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले विभिन्न समस्या भोग्दै आएका छन्। आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउँदै कोटाअनुसार पर्याप्त ग्यास उपलब्ध गराउन सकेमा उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने अपेक्षा गरिएको छ।