दाङ। नेवार सेवा समिति घोराहीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढीका कारण ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रममा नेवार सेवा समिति घोराहीका अध्यक्ष बिमलमान श्रेष्ठ, सचिव विवेक श्रेष्ठ, नेवा: देव दबु दाङका अध्यक्ष दिनेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले प्राकृतिक विपत्तिको पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउनुभयो। उहाँले सानो वा ठूलो रकमभन्दा पनि संकटमा परेका नागरिकप्रति देखाइएको सद्भाव, सहयोग र एकताले ठूलो अर्थ राख्ने उल्लेख गर्नुभयो।
“प्राकृतिक विपत्तिले जहाँका नागरिकलाई प्रभावित पारे पनि पीडा हाम्रो साझा पीडा हो,” प्रियासनले भन्नुभयो, “यस्तो समयमा विभिन्न संघसंस्था, समुदाय र नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नु नै मानवीयता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो।”
नेवार सेवा समिति घोराहीका अध्यक्ष बिमलमान श्रेष्ठले रसुवाका बाढीपीडितहरूको दुःखमा साथ दिने उद्देश्यले संस्थाका तर्फबाट सहयोग रकम प्रदान गरिएको बताउनुभयो। उहाँले विपत्तिबाट प्रभावित नागरिकले राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वासका साथ प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको जानकारी दिनुभयो।
सचिव विवेक श्रेष्ठ तथा नेवा: देव दबु दाङका अध्यक्ष दिनेश श्रेष्ठले पनि प्राकृतिक विपत्तिका बेला सबै समुदाय र संघसंस्था एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिनुभयो।
नेवार सेवा समिति घोराहीले सामाजिक सेवा, संस्कृति संरक्षण तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।