दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ।
टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा समिति गठन गर्ने निर्णय गरेको हो।
गाउँमा पछिल्लो समय रातको समयमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सवारीसाधन जथाभावी चलाउने, मदिरा सेवन गरेर गाउँ प्रवेश गर्ने तथा खेतबारीमै बसेर मदिरा सेवन गर्ने जस्ता गतिविधिबाट स्थानीयवासीलाई समस्या हुने गरेको भेलामा सहभागीहरूले बताएका थिए।
भेलाले विनोद चौधरीको संयोजकत्वमा अविरल चौधरी सहसंयोजक र राजन चौधरी सदस्य–सचिव रहेको गाउँ सुरक्षा समिति गठन गरेको छ।
समितिका सदस्यहरूमा सन्तोष चौधरी, मनिष चौधरी, अर्जुन चौधरी, अजय चौधरी, अजित चौधरी, आशाराम चौधरी, आयुष चौधरी, राज चौधरी, प्रदिप चौधरी, अमिन चौधरी, जोहन चौधरी, अरविन्द चौधरी, मरिचमान चौधरी, चमेली चौधरी, उषा चौधरी, कैलासी चौधरी, सुभाष चौधरी, संजीव चौधरी, जानकी चौधरी, गीता चौधरी, सिता चौधरी, विशाल चौधरी, विनय चौधरी, राजेन्द्र चौधरी, आकाश चौधरी, बुद्धमान चौधरी र रहनुभएको छ।
त्यस्तै समितिको सल्लाहकारमा मुनुलाल चौधरी, नगेन्द्र चौधरी, दुर्गाप्रसाद चौधरी, निर्मल चौधरी, विकास चौधरी, प्रेम चौधरी, कालिदास चौधरी, बुद्धि प्रकाश रायमाझी र सन्तोष दहित रहनुभएको छ।
‘गाउँमा शान्ति–सुरक्षा कायम गर्नु सबैको जिम्मेवारी हो’
भेलामा बोल्दै सविन प्रियासनले गाउँको शान्ति–सुरक्षा कायम गर्न स्थानीय युवाहरूको सक्रियता सकारात्मक भएको बताउनुभयो। उहाँले सुरक्षा समिति गठन गर्नुको उद्देश्य कसैलाई दण्ड दिने नभई गाउँमा शान्तिपूर्ण वातावरण निर्माण गर्नु हुनुपर्नेमा जोड दिनुभयो।
“गाउँको सुरक्षा र सामाजिक अनुशासन कायम गर्न स्थानीय समुदाय नै सचेत र सक्रिय हुनुपर्छ। कुनै समस्या देखिएमा कानून हातमा लिनेभन्दा सम्बन्धित प्रहरी प्रशासनलाई जानकारी गराएर कानूनी प्रक्रियामार्फत समाधान खोज्नुपर्छ,” उहाँले भन्नुभयो। स्थानीयहरूको गतिविधिमा घोराही बनाउँ अभियानको सधैंभरि साथ रहने प्रियासनको भनाइ छ।
टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीले रातको समयमा हुने गतिविधिले गाउँमा असुरक्षाको अनुभूति बढेकाले युवाहरूलाई संगठित गरिएको बताउनुभयो। उहाँका अनुसार गाउँमा शान्त वातावरण कायम गर्न स्थानीयस्तरबाटै निगरानी आवश्यक देखिएपछि सुरक्षा समिति गठन गरिएको हो।
नियमित रात्री गस्ती गरिने :
भेलाले गाउँमा नियमित रूपमा रातको समयमा गस्ती गर्ने निर्णय गरेको छ। गस्तीका क्रममा शंकास्पद तथा गैरकानूनी गतिविधि भेटिएमा सम्बन्धित व्यक्तिलाई कानूनबमोजिम प्रहरी प्रशासनसमक्ष बुझाउने निर्णय गरिएको छ।
यसैगरी गाउँको शान्ति–सुरक्षामा असर पार्ने गतिविधिबारे जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत भेलाले गरेको छ।
भेलाले गलत गतिविधिमा संलग्न व्यक्तिहरूको फोटो तथा नाम सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यद्यपि यस्तो कार्य गर्दा सम्बन्धित व्यक्तिको अधिकार, गोपनीयता तथा प्रचलित कानूनको पालना गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
स्थानीय युवाहरूको सहभागितामा गठन गरिएको समितिले गाउँमा हुने अवाञ्छित गतिविधि न्यूनीकरण गर्दै सुरक्षित, शान्त र अनुशासित वातावरण निर्माणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।