बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग टेस्ट किट मार्फत जाँच गरिएको थियो।
जाँचमा ई-रिक्सा चालक ३ जना, मोटरसाइकल चालक १ जना र सवार १ जना गरी ५ जनामा लापसे पोजेटिभ देखिएको छ। चेकजाँचकै क्रममा ३ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जना पुरुषलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।