दाङ । घोराही बनाऔँ’ अभियानका संयोजक तथा आगामी निर्वाचनमा घोराही उपमहानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी घोषणा गरेका सबिन प्रियासन यतिबेला नागरिकमा नेतृत्व छनोटसम्बन्धी जनचेतना जगाउँदै हिँडेका छन्।
घोराहीका विभिन्न वडा, टोल र बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गरिरहेका प्रियासनले अबको नेतृत्व समय खेर फाल्ने, आश्वासन बाँड्ने र विकासका नाममा औपचारिकता पूरा गर्ने होइन, परिणाम देखिने काम गर्ने हुनुपर्ने बताएका छन्।
> “घोराहीले अब भाषण होइन, काम खोजेको छ। समय खेर फाल्ने र कामभन्दा कुरा बढी गर्ने नेतृत्वलाई हामीले अस्वीकार गर्नुपर्छ,” प्रियासनले भने, “अब घोराहीलाई समय बिताउने मेयर होइन, घोराही बनाउने मेयर चाहिएको छ।”
उनले सक्रिय, जुझारु, दूरदर्शी र कामप्रति प्रतिबद्ध युवा नेतृत्वलाई नगर प्रमुखका रूपमा निर्वाचित गर्न आम नगरवासीलाई आग्रह गरेका छन्। युवा नेतृत्वले मात्रै घोराहीको शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, फोहोर व्यवस्थापन र सुशासनको समस्या समाधान गर्न सक्ने उनको भनाइ छ।
‘घोराही बनाऔँ’ अभियानमार्फत प्रियासनले नगरका समस्या आफैं सुन्ने, नागरिकको सुझाव संकलन गर्ने र त्यसैका आधारमा आफ्नो घोषणापत्र बनाउने बताएका छन्। अभियानमा विशेषगरी युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
उनले भने, “घोराही बनाउने अभियान कुनै एक व्यक्तिको अभियान होइन, यो सबै घोराहीवासीको अभियान हो। सबैको साथ र सहयोगले मात्रै घोराही साँच्चै बनाउन सकिन्छ।”