दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकस्थित भानुचोकमा युवा व्यवसायी भूपेन्द्र भुसालले व्यावसायिक प्रयोजनका लागि निर्माण गर्नुभएको मिनी मार्केटको नाम ‘चोक बजार’ घोषणा गरिएको छ।
एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा मिनी मार्केटको नाम ‘चोक बजार’ घोषणा गरिएको हो।
कार्यक्रममा बोल्दै प्रियासनले घोराहीमा निजी क्षेत्रबाट भइरहेका व्यावसायिक लगानी तथा पूर्वाधार निर्माणका प्रयासले नगरको आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो। स्थानीय स्तरमा लगानीको वातावरण निर्माण गर्दै व्यवसाय र रोजगारीका अवसर सिर्जना गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ थियो। उहाँले व्यवस्थित बजार विकासले घोराहीको व्यावसायिक पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
युवा व्यवसायी भुसालले व्यावसायिक गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले मिनी मार्केट निर्माण गरिएको बताउनुभयो। बजारमा विभिन्न प्रकृतिका व्यवसाय सञ्चालनका लागि आवश्यक सटरहरू निर्माण गरिएका छन्।
हाल ‘चोक बजार’ मा रहेका अधिकांश सटरमा विभिन्न व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गरिसकेका छन् भने केही सटरमा व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको छ। यसले भानुचोक तथा तुलसीपुर चोक आसपासको क्षेत्रमा व्यापारिक चहलपहल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
घोराहीको महत्वपूर्ण व्यापारिक क्षेत्रमध्ये पर्ने तुलसीपुर चोक र भानुचोक आसपासमा नयाँ व्यावसायिक संरचना निर्माण हुनुले स्थानीय व्यापार प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमको सहजीकरण चर्चित पत्रकार श्री चौधरीले गर्नुभएको थियो।
निजी क्षेत्रको लगानी, स्थानीय उद्यमशीलता र व्यापारिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको ‘चोक बजार’ ले घोराहीको व्यावसायिक विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।