२३ कार्तिक २०८३, सोमबार
09-11-2026 , Mon
×

किसानका समस्या बुझ्न गाउँगाउँमा पुग्दै सबिन प्रियासन, बारीबाटै तरकारीको मूल्य निर्धारण गर्ने तयारी

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २३, २०८३

 

दाङ । घोराही उपमहानगरपालिकामा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसान र तरकारी खरिद गरी बिक्री गर्ने व्यवसायीबीच मूल्य निर्धारणको विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि यसको दीर्घकालीन समाधान खोज्ने पहल सुरु भएको छ।

किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउने र बजारमा उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित किसानको बारीबाटै तरकारी खरिद बिक्रीको मूल्य निर्धारण गर्ने विषयमा छलफल तथा अध्ययन अघि बढाइएको हो।

यसका लागि गठन गरिएको उपसमितिका संयोजक सबिन प्रियासन चौधरी यतिबेला घोराहीका विभिन्न गाउँगाउँमा पुगेर किसानका समस्या प्रत्यक्ष रूपमा बुझ्न सक्रिय हुनुभएको छ। उहाँले किसानका खेतबारीमै पुगेर तरकारी उत्पादनको अवस्था, उत्पादन लागत, बजार मूल्य, बिक्री वितरणमा देखिएका समस्या तथा किसानले भोग्नुपरेका व्यावहारिक कठिनाइबारे जानकारी लिइरहनुभएको छ।

किसान र व्यवसायीबीच मूल्यको विषयमा देखिएको असमझदारीलाई आपसी छलफल, तथ्यगत अध्ययन र वैज्ञानिक आधारमा समाधान गर्नुपर्ने संयोजक प्रियासनको भनाइ छ। उहाँले भन्नुभयो, ‘किसानका समस्या कार्यालयमा बसेर वा अरूले सुनाएका आधारमा मात्रै बुझ्न सकिँदैन। किसानको वास्तविक अवस्था बुझ्न खेतबारीमै पुग्नुपर्छ। उहाँहरूले उत्पादन गर्दा कति खर्च गर्नुभएको छ, कति मेहनत गर्नुभएको छ र बिक्री गर्दा कस्तो मूल्य पाइरहनुभएको छ भन्ने विषय प्रत्यक्ष रूपमा बुझेर मात्रै उचित निकास निकाल्न सकिन्छ।’

उहाँका अनुसार तरकारीको मूल्य निर्धारण गर्दा किसानको उत्पादन लागत, श्रम, ढुवानी, बजार व्यवस्थापन र व्यवसायीको व्यावसायिक पक्षलाई समेत ध्यान दिन आवश्यक छ। किसानले उचित मूल्य पाउनुपर्ने र तरकारी व्यवसायीले पनि आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बन्नुपर्ने उहाँको धारणा छ।

तरकारी उत्पादन गर्ने किसान र खरिद बिक्री गर्ने व्यवसायी एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक भएको उल्लेख गर्दै प्रियासनले दुवै पक्षको हित सुरक्षित हुने गरी दीर्घकालीन समाधान खोजिने बताउनुभएको छ।

घोराही क्षेत्रमा व्यावसायिक तरकारी खेतीको राम्रो सम्भावना रहेको छ। यहाँका विभिन्न स्थानमा किसानहरूले ठूलो क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। तर बजार व्यवस्थापन, मूल्य निर्धारण र बिक्री वितरणमा देखिएका समस्याका कारण किसानले अपेक्षित लाभ लिन नसकेको अवस्था छ।

उपसमितिले स्थलगत अध्ययनबाट प्राप्त सुझाव र तथ्यलाई आधार बनाएर किसानको बारीबाटै तरकारी खरिद गर्ने वैज्ञानिक मूल्य प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।

यस पहलले किसानलाई उत्पादनप्रति थप उत्साहित बनाउने, व्यवसायीबीच विश्वासको वातावरण सिर्जना गर्ने र उपभोक्तालाई समेत उचित मूल्यमा ताजा तरकारी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर्दै कृषि उत्पादनलाई व्यावसायिक, व्यवस्थित र सम्मानजनक बनाउने दिशामा यो पहललाई महत्वपूर्ण रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही उपमहानगरपालिकामा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसान र तरकारी खरिद गरी बिक्री गर्ने व्यवसायीबीच मूल्य निर्धारणको विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि यसको दीर्घकालीन समाधान खोज्ने पहल सुरु भएको छ। किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउने र बजारमा उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित किसानको बारीबाटै तरकारी […]

  दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकस्थित भानुचोकमा युवा व्यवसायी भूपेन्द्र भुसालले व्यावसायिक प्रयोजनका लागि निर्माण गर्नुभएको मिनी मार्केटको नाम ‘चोक बजार’ घोषणा गरिएको छ। एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा मिनी मार्केटको नाम ‘चोक बजार’ घोषणा गरिएको हो। कार्यक्रममा बोल्दै […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिका-२२ मा राष्ट्रिय जनमत पार्टीको टोलीद्वारा समिति गठन सहित बुलडोजर बाबासँग अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय सभापति *रियाज अहमद शेष*, महासचिव *राजा सिंह*, केन्द्रीय सदस्य *गफुर खान*, युवा नेता *सकिल हल्वाई*, *साहिद हल्वाई*, युवा नेता *मोनू जसगड*, *बेचन बानिया* लगायतका नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागिताको लागि […]