बाँके । खुला सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। सीमा क्षेत्रमा हुने चोरी तस्करी, अवैध आवागमन र आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलका डीआईजी दीपक अधिकारीले बाँकेका स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ।
छलफलमा सीमा नाकामा संयुक्त गस्ती बढाउने, स्थानीयको सहयोगमा निगरानीलाई बलियो बनाउने र शंकास्पद गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने विषयमा जोड दिइएको थियो।
जनप्रतिनिधिहरूले सीमा क्षेत्रका नागरिकको सुरक्षाका लागि प्रहरीको उपस्थिति अझ बाक्लो बनाउनुपर्ने, सीमा स्तम्भको संरक्षण गर्नुपर्ने र स्थानीयसँग नियमित समन्वय गर्नुपर्ने सुझाव दिएका थिए।
डीआईजी अधिकारीले खुला सीमाका कारण देखिने चुनौतीलाई स्थानीय सरकार र नागरिकको साथबिना मात्रै नियन्त्रण गर्न नसकिने भन्दै सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। सीमा सुरक्षामा सशस्त्र प्रहरीले गस्ती, निगरानी र समन्वयलाई थप सुदृढ बनाउँदै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।