मकवानपुर । जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
२०८३ मंसिर ३ गते बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:२० बजे चिकित्सकले ३ जनालाई मृत घोषणा गरेका हुन्।
अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनालगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।