१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

घोराहीबाट फरार कैदी जसले गरेका थिए गर्भ भएको थाहा पछी प्रेमिकाको हत्या

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

ABC( क्राईमबीट)
दाङ । दाङको घोराही कारागारबाट बिहीबार बिहान ११ बजेतिर कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदी रहस्यमय तरिकाले भागे। छालाको बिमारी भएको भन्दै २९ वर्षीय यमराज परियारलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। कारागारका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी परियार आफूलाई अस्पताल पुर्‍याउन प्रयोग गरिएकै मोटरसाइकल प्रयोग गरी भागे। लु ३४ प ४१० नम्बरको उक्त मोटरसाइकल प्रहरी जवान धनबहादुर चौधरीको थियो। सोही मोटरसाइकल शुक्रबार लमहीको मुसोटस्थित बेलदमार भन्ने स्थानमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार ती कैदी बिरामी थिएनन्। बिहान ११ बजे भागेका कैदीको बारेमा अपराह्न ४ बजेसम्म रिपोर्ट नगरिँदा घटनालाई थप रहस्यमय मानिएको छ। फरार कैदीको खोजी कार्यका लागि प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा दुई दर्जन बढी प्रहरी खटाइएको छ। नाकाहरूमा कडाइ गरिएको प्रहरी प्रमुख काफ्लेले बताए। अहिले प्रहरी जवान चौधरीसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। बिरामी नै नभएका व्यक्तिलाई अस्पताल लगिएको र फरार भएको झन्डै पाँच घन्टापछि मात्र खबर गरिएकाले प्रहरीले यसलाई नियोजित रूपमा घटाइएको घटनाका रुपमा लिएको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भएका परियारले करिब साढे सात वर्ष कैद भुक्तान गरिसकेका छन्।
गर्भ रहेपछि प्रेमिकाको हत्या
परियारको तत्कालीन सत्बरिया गाविस वडा नं. ५ निवासी २२ वर्षीया हेमा चौधरीसँग प्रेम सम्बन्ध थियो। परियारसँगको यौन सम्बन्धपछि हेमाको पेटमा गर्भ रह्यो। गर्भवती भएकै समयमा उनी २०७१ जेठ २२ गते घरबाट हराइन्। उनी हराएपछि शंकाको घेरामा परेका परियारलाई २०७१ साउन ४ गते प्रहरीले नियन्त्रणमा लियो। परियारले हेमालाई मोटरसाइलमा लगेर साबिक सतबरिया–९ सिमपाखापानी जंगलमा राति १ बजे हत्या गरिएको खुल्यो। परियारकै बयानका आधारमा उनलाई साबिक चौलाही गाबिस–३ का शिवप्रसाद चौधरीले सघाएका थिए। ‘यमराज परियारले आफ्नो मोटरसाइकल चलाई बीचमा हेमा चौधरी र पछाडी शिवप्रसाद चौधरीलाई राखेर लगेका थिए,’ प्रहरीको अनुसन्धानले भन्छ, ‘हराएकै दिन रातको १ बजेतिर सिमपाखापानी जंगलको बखेरी खोला किनारमा पहिले स्प्रे सुँघाई बेहोस बनाउन खोज्दा स्प्रेले काम नगरेपछि हेमा चौधरीकै सलले घाँटी कसी कर्तव्य गरी मारेका भन्ने खुल्न आयो।’

पक्राउ परेका दुवैले सोही बयान दिएपछि २०७१ जेठ ६ गते प्रहरीसहित परियार र चौधरी घटनास्थलमा जाँदा मानव अवशेष फेला पर्‍यो। घटनास्थलमा दाँया–बाँया ६ वटा बंगारा भएको अगाडि भाग र नलीको हड्डी फेला पारेको थियो। डिएनए परीक्षण गर्दा सो अवशेष हेमाकै भएको पुष्टि भयो। हेमाको हत्यापछि पहिचान नहोस् भनी उनको शरीरको कपडा, मनिपर्सलगायतका सामग्री अर्जुनखोला सशस्त्र प्रहरी क्याम्पदेखि पश्चिमतर्फ रहेको जंगलको खोलामा फ्याँकेका थिए। हेमाले प्रयोग गर्ने मोबाइलसमेत शिवप्रसाद चौधरीले आफ्नो श्रीमतीलाई दिएको खुलेको थियो। सम्पूर्ण अनुसन्धान पूरा भएपछि भदौ ३ गते दाङ देउखुरी जिल्ला अदालतले परियार र शिवलाई २० वर्ष कैद फैसला सुनाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]