भीरबाट लडेर मृत्यु भएको भनिएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँका ७० वर्षीय वीरबहादुर गमालको हत्या भएको रहस्य खुलेको छ।
गमालको गत बुधबार साँझ भीरबाट लडेर मृत्यु भएको भनिए पनि उनी आफैं लडेको नभई उनकै दाजु ७४ वर्षीय हिमबहादुर गमालले धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका अनुसार मृतक वीरबहादुर र उनका दाइ हिमबहादुर गत बुधबार सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन बैंकमा सँगै गएका थिए।
भूमिकास्थान नगरपालिका वडा नं ४ धारापानीमा रहेको शाइन रेसुङ्गा बैंकबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझेर सँगै घर फर्किंदै गर्दा उनीहरूका बीचमा बाटोमै लेनदेनको विषयमा सामान्य विवाद भएको थियो।
विवाद बढ्दै जाँदा एकअर्कालाई धकेलाधकेल गर्दा हिम बहादुरले वीरबहादुरलाई खलाधार भीरबाट धकेलिदिएपछि उनको मृत्यु भएको थियो।
उक्त घटनाबारे सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गर्दै जाँदा वीरबहादुरको भीरबाट आफैं लडेर मृत्यु भएको नभई उनकै दाजु हिमबहादुरले धकेलेर मृत्यु भएको पुष्टि गरेको हो।
जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले उक्त घटनाको प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न हिम बहादुरलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरेको जानकारी दिए।साभार